खोटाङ । खोटाङमा आत्महत्याको दर वर्षेनी वृद्धि भइरहेको प्रहरीले जनाएको छ । १९ औं विश्व आत्महत्या रोकथाम दिवसको सन्दर्भमा शुक्रबार राष्ट्रिय मानव अधिकार आयोग, जिल्ला प्रहरी कार्यालय, रेडक्रस र इन्सेकले दिक्तेलमा आयोजना गरेको कार्यक्रममा विगत तीन आर्थिक वर्षको तुलनामा हरेक वर्ष आत्महत्या गर्नेको दर वृद्धि भइरहेको तथ्यांक सार्वजनिक गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर साहले आर्थिक वर्ष २०७५÷०७६ मा ३० जना पुरुष, १८ महिला र ३ बालबालिकाले आत्महत्या गरेको जिल्लामा आर्थिक वर्ष २०७७/०७८ मा ४७ पुरुष, २० महिला र ८ बालबालिकाले आत्महत्या गरेको तथ्यांक प्रस्तुत गरेका छन् ।
यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा २५ पुरुष, १२ महिला र १२ बालबालिकाले आत्महत्या गरेको तथ्यांक सार्वजनिक गरिएको छ । आत्महत्या गर्नेमा ६४.३३ प्रतिशत जनजाती, १९.११ प्रतिशत दलित र १६.५६ प्रतिशत क्षेत्री बाहुन पाइएको प्रहरी निरीक्षक साहले जानकारी दिए ।
कार्यक्रममा प्रहरीले आत्महत्या कम गर्नका लागि किटनाशक विषादि, लागू औषध, बन्दुक, डोरी, धारिलो हातहतियार जस्ता आत्महत्याका क्रममा प्रयोग हुने चिजविजमा पहुँच घटाउने, डिप्रेसन, मद्यपान लगायतका मानसिक समस्या भएका बिरामीको उपचार गर्नमा ढिलाइ गर्न नहुने लगायतका सुझाव दिएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नम्बर १, शाखा कार्यालय खोटाङका प्रमुख श्यामबाबु काफ्लेले आत्महत्या न्यूनीकरणका लागि जिल्लाका हरेक स्थानीय तहले बजेट व्यवस्था गरेर कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । ‘आत्महत्या गर्ने दरलाई न्यूनीकरणका लागि हरेक स्थानीय तहले आफै कार्यक्रम बनाउन सक्छन् ।
मनोसामाजिक परामर्श प्रदान गर्ने व्यवस्था गर्न सक्छन्,’ आयोग प्रमुख काफ्लेले भने, ‘प्रत्येक वडामा मनोसामाजिक परामर्शकर्ता राख्न सक्छन् । मनोसामाजिक परामर्शकर्ताको स्थायी दरवन्दीको व्यवस्थाका लागि पहल कदमी गर्न सकिन्छ ।’
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख बिणादेबी राईलाई प्रमुख अतिथि बनाइएको कार्यक्रममा सहभागीले जिल्लाका तीन महिलाको हत्यामा संलग्न दोषी पत्ता नलागेको, अस्थायी कोभिड अस्पताल दिक्तेलमा कोभिड संक्रमितलाई स्वास्थ्यकर्मी र कर्मचारीबाट रुखो व्यवहार गर्ने गरिएको लगायतका गुनासो गरेका छन् ।