खोटाङमा एक जना गर्भवती महिलालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीकी २९ वर्षीया तारा राईलाई नेपाली सेनाको हेलिकप्टरमार्फत शनिवार उद्धार गरिएको हो ।
सामान्य अवस्थामा सुत्केरी हुन नसकेर प्रशव पीडा बढेपछि र उनको अवस्था गम्भीर भएपछि जिल्ला अस्पताल दिक्तेलमा उपचार असम्भव भएकाले राईलाई हेलिकप्टरमार्फत उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले बताए।
जिल्ला प्रशासन कार्यालय खोटाङको समन्वयमा उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत विराटनगर पठाइएको हो । ताराको कोशी अस्पताल बिराटनगरमा भर्ना गरी शल्यक्रिया गर्ने तयारी भईरहेको उनको श्रीमान जीतकुमार राईले बताए।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत जिल्लाबाट हालसम्म १५ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको छ।