खोटाङ । चाम्लिङ राई भाषाको ‘फोप्ती’ (कोपिला) बालगीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । काजोल राईको निर्देशन, परिकल्पना र सम्पादन रहेको ‘आले ना फोप्ती सेलामा बुङा बाटुई’ बोलको म्युजिक भिडियो हौवा अनलाइन टीभीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
किरात राई यायोक्खा काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष प्रमिला राईको प्रमुख आथित्यतामा शनिबार औपचारिक कार्यक्रममार्फत् ‘फोप्ती’ म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
लेखक तथा पत्रकार तिलक चाम्लिङको शव्द, दीपेश राईको संगीत तथा निहारिका राईको स्वर रहेको गीतको म्युजिक भिडियोमा नियामा राई, साङ्केन राई, अनुका राई, किवाहाङ राई, इशक राई, नायुमा राई, डीपी राई लगायतका कलाकारहरुले अभियन गरेका छन् । किरात राई चाम्लिङ भाषामा यो पहिलो बालगीत हो ।
‘कथामा बालसखाको फोटो भेटिन्छ । उनीहरुको लामो समयसम्म भेट भएको हुँदैन । उनीहरुलाई आ–आफ्नो दुःखले कहाँ कहाँ पु¥याएको हुन्छ । धेरै समयपछि उनीहरु पहिचानको अभियानमा भेटिन्छन् ।
दुबैजना जागिर, व्यवसाय छोडेर भाषासंस्कृतिको अभियानमा लागेका हुन्छन् । यो भेटमा उनीहरु खुसी मनाउँदा मनाउँदै कथा मैझारो हुन्छ,’ गीतकार चाम्लिङले भने, ‘माटो टेक्दा पूर्खाहरूलाई सम्झन्छु । जन्मथलोको शिर ढल्दा शिरउभ्याउनी गर्छु । भाषा सिक्छु । संस्कृति सिक्छु । पहिचान जोगाउँछु । ठूलो मान्छे भएर कुलको इज्जत राख्छु । यहि भाव गीतमा समेटिएको छ ।’ हौवा अक्षयकोष स्थापनार्थ म्युजिक भिडियो निर्माण गरिएको निर्माता जीवनजित राईले बताए ।
म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा यायोक्खा काठमाडौंका अध्यक्ष राईले बालगीतको ‘फोप्ती’ म्युजिक भिडियोले नयाँ पुस्तालाई आफ्नो भाषा संस्कृतिप्रति प्रेम जगाउने प्रतिक्रिया दिएकी छन् ।
‘निर्देशकले पाँच मिनेटको गीतमा कति जीवन्त कथा परिकल्पना गर्नुभएको रहेछ । म्युजिक भिडियोभित्र गीत मात्र होइन, कथा समेटिएको छ,’ यायोक्खाका अध्यक्ष राईले भनिन्, ‘महिला आर्टिस्टहरु पनि यसरी फिल्म इन्डस्ट्रिमा निर्देशक भएको देख्न पाउँदा धेरै खुसी लागेको छ ।’ सांस्कृतिक अभियन्ता मविन्द्र राईले हरेक क्षेत्रबाट यसरी नै भाषा संस्कृति बचाउन लाग्नुपर्नेमा जोड दिएका छन् ।