दिनराज कार्की
खोटाङ । फोन तथा इन्टरनेटको सहज पहुँच नहुँदा खोटाङमा राष्ट्रिय जनगणनाका लागि घर तथा घर परिवार सूचीकरणका काम प्रभावित भएको छ । गाउँघरमा इन्टरनेट नचल्ने तथा कतिपय गाउँमा फोन नै नटिप्ने समस्याले राष्ट्रिय जनगणनाका लागि घर तथा घर परिवार सूचीकरणका काममा अशर पुगेको हो ।
फिल्डमा इन्टरनेट नचल्दा मोबाईल एप्सबाट दैनिक कार्य प्रगती अपडेट गर्न कठिन भइरहेको तथा फिल्डमा खटिएका सुपरिवेक्षकसँग सम्पर्क गर्न वा समस्या परेका बेला स्वयं सुपरिवेक्षकलाई माथिल्लो निकायमा फोन सम्पर्क गर्न कठिन भइरहेको जिल्ला जनगणना कार्यालय खोटाङका जनगणना अधिकारी जीतवहादुर कोइराला (जेबी) ले बताए ।
‘मोवाइल एप्सबाट दैनिक कार्य प्रगती अपडेट गर्नु पर्नेमा मोवाइल तथा इन्टरनेट सेवा राम्रो नभएका कारण सो कार्य सोचे अनुसार हुन सकिरहेको छैन,’ जनगणना अधिकारी कोईरालाले भने ‘फिल्डमा खटिएका सुपरिवेक्षकहरुसँग सम्पर्क गर्न वा कुनै समस्या पर्दा सुपरिवेक्षकहरुले हामीलाई सम्पर्क गर्न एकदमै कठिन भइरहेको छ ।’
बर्षाको समय अझै नसकिएको, भौगोलिक विकटता र पहाडका छरिएका बस्तीमा पुग्न सुपरिवेक्षकले पैदल यात्रा गर्नु पर्ने भएकाले पनि कार्य प्रगति अपेक्षा गरे अनुरुप हुन नसकिरहेको जिल्ला जनगणना कार्यालयले जनाएको छ ।
यस्तै, खराब मौसम र खराब सडकका कारण सवारी साधन नचल्दा सूचिकरण र सुपरिवेक्षण दुवै कार्यमा अवरोध भईरहेको जनगणना अधिकारी कोइरालाले बताए । दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा राष्ट्रिय जनगणना अन्तरगत भदौ ३० गतेदेखि घर तथा घर परिवार सूचिकरणको काम भइरहेको छ ।
घर तथा घर परिवार सूचिकरणको काम आगामी असोज १८ गतेसम्म सञ्चालन हुने छन् । सोमबारसम्ममा घर तथा घर परिवार सूचिकरणको कार्य प्रगती करिब २० प्रतिशत भएको जनगणना अधिकारी कोईरालाले बताए । खोटाङमा घर तथा घरपरिवार सूचिकरणको काममा ७१ जना सुपरिवेक्षक खटाइएका छन् । दोश्रो चरणमा आगामी कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म गणकहरुमार्फत मूख्य गणनाको विवरण संकलन गरिने जनाइएको छ ।
जिल्ला जनगणना समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी तथा अन्य समिति पदाधिकारीहरु लगायत जिल्लास्थित स्थानीय तह तथा सुरक्षा निकायमा पत्राचार तथा समन्वय मार्फत राष्ट्रिय जनगणना सफल पार्न सहजिकरण गर्ने प्रयास गरिएको जिल्ला जनगणना कार्यालयले जनाएको छ । २०६८ सालको जनगणना अनुसार खोटाङको जनसंख्या २ लाख ६ हजार ३१२ थियो भने विदेशमा बस्ने १७ हजार ६६२ जना थियो ।