दिनराज कार्की
खोटाङ । हिरासत पुस्तकालय स्थापनाको अभियान सुरु गरेको जिल्ला प्रहरी कार्यालय खोटाङलाई नेपाल तरुण दल र नेविसंघले पुस्तक प्रदान गरेको छ । हिरासतमा रहेका थुनुवालाई लक्षित गर्दै २०७७ चैतदेखि हिरासत पुस्तकालय स्थापनाको अभियान सुरु गरेको प्रहरीलाई तरुण दल र नेविसंघले मंगलबार २५ थान पुस्तक प्रदान गरेको हो ।
तरुण दलका उपसभापति सञ्जयकुमार राई, नेविसंघका सभापति राजकुमार बस्नेत लगायतले प्रहरी निरिक्षक सागर साहलाई जिल्ला प्रहरी कार्यालय पुगेर पुस्तक हस्तान्तरण गरेका हुन् ।
प्रहरी हिरासतलाई जीवन काँडा कि फूल, एक मिनेट, जीवन परिर्वतन, सबै जातकोे फुलबारी, रोमाञ्चित जीवन, दशगजामा उभिएर, लु, तयारीको जित, फुलको आँखा लगायतका पुस्तक प्रदान गरिएको तरुण दलका उपसभापति राईले बताए ।
बिभिन्न मुद्धामा पक्राउ परी अनुसन्धानकाक्रममा हिरासतमा राखिने थुनुवालाई लक्ष्यित गर्दै जिल्ला प्रहरी कार्यालयले हिरासत पुस्तकालय स्थापनाको अभियान सुरु गरेको हो ।
हालसम्म हिरासत पुस्तकालयलाई हलेसीखबर डटकमका सम्पादक हरिबोल आचार्यले पाँच हजार बराबरको १९ थान, अधिवक्ता ओमप्रकाश घिमिरेले १२ थान, जिल्ला निर्वाचन अधिकारी कोपिला राईले १८ थान, राष्ट्रिय मानव अधिकार आयोगको उपक्षेत्रीय कार्यालय दिक्तेलले १४ थान, जिल्ला प्रशासन कार्यालय खोटाङले ९ थान, बिन्दु अधिकारी ढकालले ३ थान, प्रहरी निरिक्षक सागर शाहले ७ थान, प्रहरी सहायक निरिक्षक हरिकुमार पौडेलले २ थान लगायत पुस्तक प्रदान गरिसकेका छन् ।
हिरासतमा बसेर खाली समय बिताइरहेका थुनुवालाई समयको सदुपयोग गर्ने वातावरण निर्माण गर्दै उनीहरुको मानसिकतामा सकरात्मक परिवर्तन ल्याउनका लागि पुस्तकालयको अवधारणा अघि सारिएको प्रहरी निरिक्षक शाहले बताए ।
जो सुकैले आफुले अध्ययन गरिसकेका पुस्तक वा नयाँ पुस्तक उपलव्ध गराएर प्रहरीको सो पुस्तकालय स्थापना अभियानमा सहभागी हुन पाइने छ । पुस्तक उपलव्ध गराउने व्यक्तीको नाम, ठेगाना र मिति उल्लेख गरेर दर्ता गर्ने व्यवस्था मिलाइएको छ ।
यस्तै, पुस्तक अध्ययन गर्न चाहने थुनुवाको नाम, मुद्धाको प्रकृति, पुस्तक लगेको मिति, फिर्ता गरेको मिति उल्लेख रेकर्ड राख्ने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हिरासत नजिकै स्थापना गरिएको पुस्तकालयमा कम्तीमा एक हजार पुस्तक जुटाउने लक्ष्य राखिएको छ । कतिपय थुनुवाले टाइम पासका लागि पुस्तकालयको पुस्तक माग्न थालेको प्रहरी निरिक्षक शाहले बताए ।