दिनराज कार्की
खोटाङ । मध्यपहाडी लोकमार्गमा ट्याक्टर दुर्घटना हुँदा सह–चालकको मृत्यु भएको छ । शुक्रबार राती खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेको सुनकोसीस्थित रसुवाघाटबाट बालुवा लिएर दिक्तेल जाँदै गरेको स १ त ७०७१ नम्बरको ट्याक्टर दुर्घट्ना हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका १९ वर्षीय डिलक्स राईको मृत्यु भएको हो ।
मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको पानीट्यांकीमा गुडिरहेको ट्याक्टर सडकबाट करिब ३५ मिटर तल खस्दा सह–चालक राईको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरिक्षक सागर साहले बताए ।
ट्याक्टरको इन्जिनले किच्दा सह–चालक राईको मृत्यु भएको हो । चालक महेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । डिलक्स दिक्तेल रुपाकोट मझुवागढी नगरापलिका–४ खाल्लेस्थित मावली घरमा बस्दै आएका थिए ।