खोटाङमा वर्षभरी उत्कृष्ट कार्य सम्पादन गर्ने १४ जना प्रहरी पुरस्कृत भएका छन् । शान्ति सुरक्षा एबं अपराध नियन्त्रणकाक्रममा उत्कृष्ट काम गरेकामा जिल्ला प्रहरी कार्यालयले प्रहरी निरिक्षक सागर साह सहित १४ प्रहरीलाई पुरस्कृत गरेको हो ।
उत्कृष्ट प्रहरी जवान तथा अधिकृतलाई ६६ औं प्रहरी दिवसको अवशरमा जिल्ला प्रहरी कार्यालय परिषरमा आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरिएको हो । प्रहरीको काम कारबाहीकाक्रममा उत्कृष्ट काम गरेकामा उनीहरुलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक उमेश लम्सालले बताए ।
यस्तै, प्रहरी दिवसको अवशरमा चार अमर प्रहरी परिवारलाई पनि सम्मान गरिएको छ । जिल्लाका २८ जना अमर प्रहरी परिवारमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका सरस्वती ठाकुर, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माकी कमलादेबी आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका लक्ष्मी श्रेष्ठ र प्रेम आचार्यलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
प्रहरी चौकीलाई निःशुल्क जग्गा प्रदान गर्ने जग्गादातालाई पनि सोही कार्यक्रममा सम्मान गरिएको छ । कार्यक्रममा जिल्ला स्तरिय खुला व्याडमिन्टन तथा प्रहरीचौकीबीचको आन्तरिक हाजिरीजवाफ प्रतियोगीताका विजेतालाई पनि पुरस्कार वितरण गरिएको छ । प्रहरी दिवसको अवशरमा जिल्ला प्रहरी कार्यालयले जिल्ला स्तरिय खुला व्याडमिन्टन तथा प्रहरीचौकीबीचको आन्तरिक हाजिरीजवाफ प्रतियोगीता आयोजना गरेको जनाएको छ ।
प्रहरीले विभिन्न माध्यमबाट आफ्नो अभियानमा सहयोग गर्ने संघसंस्थालाई प्रशंसा–पत्र सहित सम्मान प्रदान गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, विभिन्न सरकारी तथा गैर–सरकारी कार्यालय, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
प्रहरी कार्यालय परिषरमा पालिका बाटिका !
जिल्ला प्रहरी कार्यालय खोटाङ परिषरमा पालिका बाटिका बनाउने तयारी गरिएको छ । जिल्ला प्रहरी कार्यालयप्रति स्थानीय सरकारको अपनत्व स्थापित गर्ने लक्ष्यका साथ बृक्षारोपण गर्दै पालिका बाटिका बनाउने कामको सुरुवात गरिएको हो । ६६ औं प्रहरी दिवसको अवशरमा बुधबार जिल्लाका १० वटै स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई बृक्षारोपण गर्न लगाएर पालिका बाटिका निर्माणको सुरुवात गरिएको छ ।
जिल्लाका सवै स्थानीय तहको बोर्ड राखिएको खाल्डोमा धुपी सल्ला, सिन्कौली लगायतका जातका विरुद्ध रोप्न लगाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरिक्षक लम्सालले बताए । जिल्ला प्रहरी कार्यालय परिषर हराभरा बनाउने र जनप्रतिनिधिलाई जिल्ला प्रहरी कार्यालयको स्मरण दिलाइरहनका लागि पालिका बाटिकाको अवधारणा अघि सारिएको जनाइएको छ ।
हिरासत पुस्तकालय उद्ध्घाटन
जिल्ला प्रहरी कार्यालय खोटाङको हिरासतमा स्थापना गरिएको हिरासत पुस्तकालय उद्ध्घाटन गरिएको छ । बिभिन्न मुद्धामा पक्राउ परी अनुसन्धानकाक्रममा हिरासतमा राखिएका थुनुवालाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालयले स्थापना गरेको हिरासत पुस्तकालय दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले उद्घाटन गरेका हुन् ।
हिरासतमा बसेर खाली समय बिताइरहेका थुनुवालाई समयको सदुपयोग गर्ने वातावरण निर्माण गर्दै उनीहरुको मानसिकतामा सकरात्मक परिवर्तन ल्याउनका लागि पुस्तकालयको अवधारणा अघि सारिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक लम्सालले बताए ।
प्रहरीले २०७७ चैतदेखि हिरासत पुस्तकालय स्थापना अभियान थालेको थियो । हाल पुस्तकालयका लागि पुस्तक जुटाउ अभियान सञ्चालन भइरहेको छ ।