खोटाङमा वर्षभरी उत्कृष्ट कार्य सम्पादन गर्ने १४ जना प्रहरी पुरस्कृत भएका छन् । शान्ति सुरक्षा एबं अपराध नियन्त्रणकाक्रममा उत्कृष्ट काम गरेकामा जिल्ला प्रहरी कार्यालयले प्रहरी निरिक्षक सागर साह सहित १४ प्रहरीलाई पुरस्कृत गरेको हो ।
उत्कृष्ट प्रहरी जवान तथा अधिकृतलाई ६६ औं प्रहरी दिवसको अवशरमा जिल्ला प्रहरी कार्यालय परिषरमा आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरिएको हो । प्रहरीको काम कारबाहीकाक्रममा उत्कृष्ट काम गरेकामा उनीहरुलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक उमेश लम्सालले बताए ।
यस्तै, प्रहरी दिवसको अवशरमा चार अमर प्रहरी परिवारलाई पनि सम्मान गरिएको छ । जिल्लाका २८ जना अमर प्रहरी परिवारमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका सरस्वती ठाकुर, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माकी कमलादेबी आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका लक्ष्मी श्रेष्ठ र प्रेम आचार्यलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
प्रहरी चौकीलाई निःशुल्क जग्गा प्रदान गर्ने जग्गादातालाई पनि सोही कार्यक्रममा सम्मान गरिएको छ । कार्यक्रममा जिल्ला स्तरिय खुला व्याडमिन्टन तथा प्रहरीचौकीबीचको आन्तरिक हाजिरीजवाफ प्रतियोगीताका विजेतालाई पनि पुरस्कार वितरण गरिएको छ । प्रहरी दिवसको अवशरमा जिल्ला प्रहरी कार्यालयले जिल्ला स्तरिय खुला व्याडमिन्टन तथा प्रहरीचौकीबीचको आन्तरिक हाजिरीजवाफ प्रतियोगीता आयोजना गरेको जनाएको छ ।
प्रहरीले विभिन्न माध्यमबाट आफ्नो अभियानमा सहयोग गर्ने संघसंस्थालाई प्रशंसा–पत्र सहित सम्मान प्रदान गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, विभिन्न सरकारी तथा गैर–सरकारी कार्यालय, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।