खोटाङ । हङकङमा बसेर पत्रकारिता गरिरहेका ५४ वर्षीय पत्रकार किसन राईको भीरबाट लडेर मृत्यु भएको छ । काठ्माण्डौंबाट मध्यपहाडी लोकमार्ग हुँदै भोजपुर जानेक्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित पंखु खोलामा ७ कात्तिक साँझ भीरबाट लडेर पत्रकार राईको मृत्यु भएको हो ।
गाडी रोकेर दिसापिसाव गर्न भन्दै पाखामा जानेक्रममा भीरबाट लडेर पत्रकार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरिक्षक सागर साहले बताए ।
ओखलढुंगाको मोलुङ गाउँपालिका–२ टेकनपुरबाट धरान नगरपालिका–१५ बसाइ सरेका पत्रकार राई नेपाल पत्रकार संघ हङकङ शाखाका अध्यक्ष हुन् । उनको सम्पादकत्वमा दुई दशकदेखि हङकङबाट एभरेष्ट साप्ताहिक प्रकाशन हुँदै आएको छ ।
पत्रकार राईको लडेर मृत्यु भएको विषयमा प्रहरीचौकी दोर्पाचिउरीडाँडालाई बेलुका ७ बजे खबर पुगेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक साहको नेतृत्वमा खटिएका प्रहरीले राती २ बजे शवलाई जिल्ला अस्पताल पु¥याएको थियो । राईलाई अस्पतालमा मृत अवस्थामा ल्याइएको मेडिकल सुपरिटेण्डेण्ट डा. बैभव मल्लिकले पूष्टि गरेका छन् ।
धरानबाट आफन्त आएपछि पोष्टमार्टम गरेर शव जिम्मा दिने तयारी गरिएको प्रहरी निरिक्षक साहले बताए । पत्रकार राईसँग सशस्त्र प्रहरीका पूर्व एसपी प्रेम श्रेष्ठ पनि थिए । उनीहरु घुमफिरका क्रममा भोजपुरतर्फ हिँडेको बताइएको छ । जनजाती महासंघ हङकङका अध्यक्ष रहेका राई किरात राई यायोक्खा हङकङका संस्थापक अध्यक्ष पनि हुन् ।