खोटाङ । नेपाल पत्रकार महासंघ खोटाङका सदस्य उजुर राईले ब्लड क्यान्सर पीडित बालकलाई आर्थिक सहयोग गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ निवासी पत्रकार राईले ब्लड क्यान्सर भएपछि गत असारदेखि उपचारमा रहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कका ६ वर्षीय बालक पुरुषोत्तम कट्वाललाई १५ हजार सहयोग गरेका हुन् ।
पत्रकार राईले शनिबार प्रेस संगठन नेपालको दिक्तेलस्थित कार्यालयमा आयोजित कार्यक्रममा बालकका बुवा लेखबहादुर कट्वाललाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । ब्लड क्यान्सरको उपचारका क्रममा आर्थिक समस्या झेलिरहेका बालकको उपचारार्थ सहयोग गरेको पत्रकार राईले बताए ।
विगत २५ बर्षदेखि पत्रकारिता गरिरहेका पत्रकार राईले बालकको उपचारका क्रममा आर्थिक समस्या परेको जानकारी सामाजिक सञ्जालबाट पाएपछि सहयोग उपलव्ध गराएका हुन् ।
‘खर्चको अभावमा उपचार गराउन नसक्दाको पीडा मलाई पनि छ । मेरै आमा र श्रीमतीलाई ५÷७ वर्षअघि भवितव्यमा गुमाएको पीडा मैले भोगेको छु,,’ राईले भने, ‘यस्तो अवस्थामा खर्चको अभाव नहोस्, स्वास्थ्य लाभ होस् भनेर सहयोग गरेको हुँ ।’
ब्लड क्यान्सर पीडित बालकको हाल कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारकाक्रममा २० देखि २५ लाख खर्च लाग्ने बताइएको बुवा लेखबहादुरले जानकारी दिए । हालसम्म करिब चार लाख चन्दा संकलन भइसकेको र त्यी सबै खर्च भइसकेको जनाइएको छ ।
ब्लड क्यान्सर पीडित बालकलाई नेकपा माओवादी केन्द्रका अनुशासन विभाग प्रमूख एवं पूर्व सांसद टंक राईले पनि ३ हजार प्रदान गरेका छन् ।