खोटाङ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको प्रयास स्वरुप खोटाङको खोटेहाङ गाउँपालिकामा ‘तपाईको मास्क खै ?’ अभियान सञ्चालन गरिएको छ ।
नानुदिन कोरोना भाइरसको जोखिम बढिरहेकाबेला ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तरगत गाउँपालिका र ईलाका प्रहरी कार्यालयको सहकार्यमा मंगलबार खोटाङबजारमा ‘तपाईको मास्क खै ?’ अभियान सञ्चालन गरिएको हो ।
लकडाउन हटेपछि मास्कको प्रयोगमा बेवास्ता गर्दा कोरोना संक्रमण फैलिने त्रास झन् बढेर गएकाले सचेतना फैलाउने लक्ष्यकासाथ खोटाङबजारमा ‘तपाईको मास्क खै ?’ अभियान सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए । अभियान अन्तरगत खोटाङबजारको हाटलाग्ने स्थानदेखि सुरु गरिएको र्याली गाउँपालिकाको कार्यालय पुगेर पुःन बजारबीचमा पुर्याएर टुंग्याइएको थियो ।
अभियानकाक्रममा अनिवार्य मास्क प्रयोग गर्न, अति आवश्यक काम बेगर हिडडुल नगर्न, आपूmलाई रोग नसार्न र अरुलाई नबाँड्न, सामाजिक तथा भौतिक दुरी कायम गर्न आग्रह गरिएको प्ले कार्ड प्रर्दन गरिएको थियो । प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले उद्घाटन गरेको अभियान गाउँपालिका अध्यक्ष राईले समापन गरेका थिए ।
र्यालीमा गाउँपालिकाकी उपाध्यक्ष कविता राई, ईलाका प्रशासन कार्यालय खोटाङबजारका प्रमुख मनस राई, खोटाङ क्यम्पसका प्रमुख कुमार पराजुली, ईलाका प्रहरी कार्यालय खोटाङबजारका प्रहरी निरिक्षक सुर्यनारायण माझी, राजनैतिक दलका स्थानीय नेता, कर्मचारी लगायतको सहभागीता रहेको थियो ।
संक्रमणबाट बच्नका लागि हाललाई मास्क प्रयोग गर्नुको बिकल्प नभएकाले गत साउन २१ गते दिक्तेलबाट ‘तपाईको मास्क खै ?’ अभियान सुरु गरिएको थियो । हाल जिल्लाका विभिन्न स्थानमा ‘तपाईको मास्क खै ?’ अभियान सञ्चालन भइरहेको छ ।