खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुका उत्कृष्ट अंक ल्याएर उत्तिर्ण हुने छात्र÷छात्रालाई पुरस्कृत गरिएको छ ।
विभिन्न कक्षामा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्दै कक्षा स्तरोन्नती गर्ने १० छात्र÷छात्रालाई तिहारको देउसी समापनको अवशरमा शैक्षिक सामग्री सहित पुरस्कृत गरिएको हो । उत्कृष्ट अंक ल्याएर माथिल्लो कक्षा उक्लिने गाउँका छात्र÷छात्रालाई प्रोत्साहन स्वरुप अभिभाबकले कापी र कलम सहित पुरस्कृत गरेका हुन् ।
कक्षा ४ मा प्रथम स्थान प्राप्त गर्ने सजना राई, कक्षा ३ मा प्रथम स्थान प्राप्त गर्ने भावना राई, कक्षा २ मा प्रथम स्थान प्राप्त गर्ने यसोदा राई र कक्षा १ मा प्रथम स्थान प्राप्त गर्ने रजिन राईलाई पुरस्कृत गरिएको हो ।
यस्तै, कक्षा ५ मा दोश्रो स्थान प्राप्त गर्ने सिलसिला राई, कक्षा ४ मा दोश्रो स्थान प्राप्त गर्ने माइकल राई, कक्षा २ मा दोश्रो हुने उत्तम राई, कक्षा ९ मा तेश्रो स्थान प्राप्त गर्ने दिलीप राई, कक्षा ५ मा तेश्रो स्थान प्राप्त गर्ने आशिका राई र कक्षा १ मा तेश्रो स्थान प्राप्त गर्ने एनिसा राईले अभिभावकको सम्मान पाएका हुन् । पुरस्कृत वालबालिका च्यास्मीटार मावि र कालिका प्रावि बाहुनीडाँडामा अध्ययनरत छन् ।
‘पढिगुनी के काम, हलो जोति खायो माम’ भन्दै बालबच्चालाई विद्यालय नपठाउने अभिभाबकको चेतना अभिबृद्धि एबं उनीहरुमाझ नैतिक दवाव सिर्जना गर्नका लागि गाउँका उत्कृष्ट छात्र/छात्रालाई सम्मान गरिएको अभिभावक खबिराज राईले बताए । उत्कष्ट अंक ल्याएर उत्तिर्ण हुने छात्र/छात्रालाई च्यास्मीटार माबिका प्रअ तेजकुमार राई, शिक्षक जीवराज राई, च्यास्मीटार महिला कृषि सहकारी संस्थाका अध्यक्ष अमृता राई, अभिभावक एवं युवा नेता रसकुमार राईले अविर लगाएर कापी र डटपेन प्रदान गरेका छन् ।
आफ्नो बालबच्चालाई पढाईप्रति प्रोत्साहित गर्नका लागि दाल्फुका अभिभाबकले हरेक वर्ष उत्कृष्ट अंक ल्याएर उत्तिर्ण गर्ने छात्र÷छात्रालाई तिहार समापनको अवशरमा सम्मान गर्दैआएका छन् । मेहनत गर्ने र राम्ररी पढ्ने गाउँका बालबालिकालाई पढाईमा प्रोत्साहित गर्न र अन्य छात्रछात्रालाई पनि पढाईप्रति आकर्षित गर्न अभिभाबककोतर्फबाट सम्मानको व्यवस्था गरिएको अभिभावक केसीराज राईले बताए ।
गाउँघरमा अझैपनि आफ्ना स्कुले छोराछोरीलाई पठन–पाठनमाभन्दा घरायसी काममा लगाउने प्रचलन कायम छ । राम्रो लेखपढ गर्ने कतिपय बालबालिकाको क्षमताको कदर हुन सकिरहेको छैन । अझ शहर र सदरमुकामबाट दूरदराज मानिएका ठाउँमा यस्तो अभ्यास कमै हुन्छन् ।
त्यही भएर राम्रा बिद्यार्थीलाई अझ मेहनत गर्न र अन्यलाई पनि पढाईमा प्रोत्साहित गर्ने अभ्यास स्वरुप उत्कृष्ट छात्र÷छात्रालाई पुरस्कारको व्यवस्था गरिएको अभिभावक बताउँछन् । ‘छोराछोरीले पढ्छन्, राम्रो अंक ल्याएपनि अभिभाबकबाट प्रोत्साहन पाउँदैनन्,’ राईले भने, ‘पढ्ने र नपढ्ने दुबैलाई शिक्षा क्षेत्रमा आकर्षणकालागि सम्मानको व्यवस्था गरिएको हो ।’
कार्यक्रममा गाउँका बालबालिकालाई बिद्यालय जानबाट बञ्चित नगराउन अभिभाबकलाई आग्रह गरिएको छ । गाउँमा सम्मान पाउँदा बालबच्चामा ‘पढ्ने हौसला’ मिलेको बताइएको छ ।