खोटाङ । ट्याक्टर दुर्घटनामा खोटाङमा बालकको मृत्यु भएको छ । रावाबेंसी गाउँपालिका–५ दुबेकोलस्थित भदौरेबाट ढुंगा लिन चिण्डेश्वरातर्फ जाँदै गरेको प्रदेश–२–०३–००१ त ३२९४ नम्बरको ट्याक्टरले किच्दा बुधबार सोही ठाउँका १३ वर्षीय वर्षीय रोशन विकको मृत्यु भएको हो ।
भदौरेमा व्यक्तिको घरमा ढुंगा झारेर चिण्डेश्वरातर्फ जाँदै गर्दा सडक किनारामा कोल्टे परेर ट्याक्टर पल्टिँदा सोही ट्याक्टरबाट खसेका बालकको किचिएर मृत्यु भएको हो । पल्टिएको ट्याक्टरबाट जमिनमा खस्ने वित्तिकै चक्काले किचेका बालकको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक सागर साहले बताए ।
मृतक बालक सोही ट्याक्टरमा मजदुरी (लोडअनलोड)को काम गर्दैआएका थिए । ट्याक्टर चालक रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका २१ वर्षीय रोशन भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको अव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिदैछ । घट्नाको विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरी निरिक्षक साहले बताए ।