खोटाङ । २०४८ सालमा खोटाङमा भएको कर्मचारी आन्दोलनमा सहभागी हुँदा नोकरीबाट हटाइएका चार कर्मचारी सम्मानित भएका छन् ।
१५ साउन २०४८ मा नेपाल निजामती कर्मचारी संगठनले दिक्तेलमा सरकार विरुद्ध निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी भएवापत नोकरीबाट बर्खास्तीमा परेका नासु रामकाजी कार्की, चन्द्रप्रसाद आचार्य, रामविक्रम थापा र चित्रकुमार बजिमय सम्मानित भएका हुन् ।

ऐतिहासिक कर्मचारी आन्दोलनमा सामेल भएर रोजीरोटी गुमाएका कर्मचारीलाई नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति खोटाङको ११ औं जिल्ला अधिबेसन उद्घाटनको अवसरमा शुक्रबार सम्मान गरिएको हो ।
सम्मानित कर्मचारीलाई नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सह–संयोजक लेखनाथ कोइराला र प्रदेश–१ की पूर्व सामाजिक विकास मन्त्री उषाकला राईले खादा ओढाएर सम्मान–पत्रसहित सम्मान गरेका छन् ।
संगठनको स्थापना कालदेखि सक्रिय रही ऐतिहासिक कर्मचारी आन्दोलनमा सहभागी भए वापत नोकरी खोसिए पनि निरन्तर क्रियासिल रहेर संगठनको गरिमालाई उच्च बनाउन पु¥याएको योगदानको मूल्यांकन गर्दै सम्मान गरिएको संगठनका जिल्ला अध्यक्ष मोहनकुमार भट्टराईले बताए ।
तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकारसँग भएको सम्झौता अनुसारको सेवा सुविधा नदिइएको विरोधमा कर्मचारीको अगुवाईमा निस्किएको शान्तिपूर्ण जुलुसमाथि प्रहरीले गोली चलाउँदा विद्यार्थी मनोज जोशीले ज्यान गुमाएका थिए । जोशीको हत्या भएको घटनालाई जिल्लामा शहिद ‘मनोज हत्याकाण्ड’ का रुपमा चिन्ने गरिन्छ ।
सरकार विरुद्धको आन्दोलनमा सहभागी भएको भन्दै आन्दोलनमा सहभागी जिल्लाका १३ जना कर्मचारीहरु जागीरबाट हटाइएका थिए ।
यस्तै, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल खोटाङले स्वास्थ्य सेवाको क्षेत्रमा लामो समयसम्म सेवा गरेका रेवतीप्रसाद पाण्डे र पर्शुराम आचार्यलाई सम्मान गरेको छ । दोश्रो जिल्ला अधिबेसन उद्घाटनको अवसरमा पाण्डे र आचार्यलाई सम्मान गरिएको हो । आचार्यलाई मृत्यु पर्यन्त सम्मान गरिएको राष्ट्रिय स्वास्थ्यकर्मी संघ खोटाङले जनाएको छ ।