शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

शहिद मुक्सन किरातको शालिक अनावरण 

शहिद मुक्सन किरातको शालिक अनावरण 

रोदिक खबर

१७, फाल्गुण २०७८
  • 3.8K
    SHARES
  • शहिद मुक्सन किरातको शालिक अनावरण 

    खोटाङ । खोटाङमा शहिद मुक्सन किरातको शालिक अनावरण गरिएको छ । शशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्षबाट २४ असोज २०५९ मा हत्या गरिएका मुक्सनको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको अर्चलेस्थित समाधिस्थलमा शालिक अनावरण गरिएको हो ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उपलव्ध गराएको ६ लाखमा स्थापना गरिएको शालिक सोमबार प्रतिनिधिसभा सदस्य एबं एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अनावरण गरेका हुन् । शहिद किरातको ४५ औं जन्मदिनको अवशर पारेर उनकै जन्मथलोमा शालिक अनावरण गरिएको हो । 

    शहीद मुक्सनको शालिक अनावरण कार्यक्रममा शहीद माता सम्पूरा राईलाई सम्मान गरिएको छ । शहिद मातालाई शहीद मुक्सन किरात स्मृति केन्द्रले दोसल्ला ओढाएर सम्मान–पत्र सहित सम्मान गरेको हो । शहीद पिता बीरबहादुर राईको गत वर्ष निधन भइसकेको छ । शालिक अनावरण कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख बिणादेबी राई, वडाध्यक्ष निर्मल राई लगायतको उपस्थिति रहेको थियो । 

    नेकपा एमालेको तत्कालिन जिल्ला जिल्ला परिषद सदस्य एवं अनेरास्ववियुका राष्ट्रिय परिषद सदस्य रहेका किरातको २४ असोज २०५९ मा हत्या भएको थियो । किरातलाई माधव नेपाल प्रधानमन्त्री भएको बेला २०५९ सालमा शहिद घोषणा गरिएको थियो । किरात अपहरणमा परेकै बेलुका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाको ढुंगे भन्ने ठाउँको खेतपुछारमा रहेको उत्तिसघारीमा मृत फेला परेका थिए । 

    जन्तरे भाई विकल्प किरातका अनुसार मुक्सनलाई अपरिचित तीन जनाको समुहले विहान घरबाट अपहरण गरेका थिए । किरातको शव धारिलो हतियार प्रयोग गरेको र दुबै हातमा रातो कपडाले बाँधेको अवस्थामा भेटिएको शहिद मुक्सन किरात स्मृति केन्द्रका अध्यक्ष एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख ववि चाम्लिङ बताउँछन् । 

    शसस्त्र द्धन्द्ध कालमा एमाले नेता भट्टराई (हाल प्रतिनिधिसभा सदस्य), रामप्रसाद दंगाल, शिवराज राई, नविन राई लगायतका नेता पनि अपहरणमा परेका थिए । अन्य नेता अपहरणको केही समयपछि अपहरणमुक्त भए तर २४ भदौ २०५९ मा अपहरणमा परेका भट्टराई ७ कात्तिकमा मात्र अपहरणमुक्त भएका थिए । त्यही समयमा मुक्सनको अपहरण लगत्तै हत्या भएको थियो । मुक्सनको हत्या भएको खबर रेडियोबाट सुनेको भट्टराई सम्झन्छन् ।

    ‘२०५९ असोज २४ गतेका दिन हामी माओबादी अपहरणको अज्ञात मुकाममा रहँदा एमाले कार्यकर्ता मुक्सन किरातको हत्या भएको दुःखद खवर सुनियो,’ प्रतिनिधिसभा सदस्य भट्टराईले फेसबुकमा लेखेका छन्, ‘आज फागुन १६ गते उनै मुक्सन किरातको ४५ औं जन्मदिनको सन्दर्भमा शालिक अनावरणसहित श्रद्धाञ्जली कार्यक्रम आयोजना गरियो ।’ 

    प्रकाशित मिति :फाल्गुण १७, २०७८ मंगलवार - ०८:४५:०४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको