खोटाङ । कालाजार संक्रमित फेला परेको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा कालाजार रोकथाम तथा नियन्त्रण सम्वन्धी कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ ।
दुधकोसी किनारभन्दा केहीमाथि रहेको बस्तीमा कालाजारका बिरामी फेला परेपछि हलेसी तुवाचुङ नगरपालिकाले सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो ।
महामारीजन्य रोग नियन्त्रण शीर्षकको बजेटबाट कालाजारबाट बच्ने उपायका बारेमा गाउँस्तरमा पुगेर सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक प्रकाश घिमिरेले बताए ।
बाहुनीडाँडाका पाँच स्थानीयलाई कालाजार संक्रमण भएको समाचार सार्वजनिक भएपछि नगरपालिकाले रोकथाम तथा नियन्त्रणका विषयमा योजना बनाएको हो । पाँच जनामध्ये चार जनाको ओखलढुंगामा र एक जना महिलाको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वास्थ्य परीक्षणकाक्रममा कालाजार भएको पूष्टि भएको स्वास्थ्य शाखाले जनाएको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा चार जनालाई र चालु आर्थिक वर्ष एक जनालाई कालाजार भएको नगरपालिकाको स्वास्थ्य शाखाको रेकर्डमा उल्लेख छ । स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले भने तीन जनालाई मात्र कालाजार संक्रमण भएको बताए ।
एउटै वडामा पाँच जना संक्रमित फेला परेको अवस्थामा गत भदौ १४ र २५ गते हलेसीमा आयोजित वार्षिक समिक्षा कार्यक्रममार्फत कालाजार रोकथाम तथा नियन्त्रणका लागि किटनाशक विषादि छर्कने योजना बनाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।