खोटाङ । उल्टो बसेर बाईक चलाउने खोटाङका युवालाई गिनिज वल्ड रेकर्डस्ले सम्मान गरेको छ । उल्टो बसेर बाईक चलाउने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका दिलीप राईलाई गिनिज वल्ड रेकर्डस्ले सम्मान गरेको हो । गत ४ सेप्टेम्बर २०२१ को निर्णय अनुशार उल्टो मोटरसाईकल चालक राईलाई वल्र्ड रेकर्ड फाउण्डेसन नेपालमार्फत प्रमाणपत्र पठाएर सम्मान गरेको हो ।
बिहिबार नेपाल पत्रकार महासंघ शाखा खोटाङको कार्यालयमा बरिष्ठ पत्रकार कृष्ण आचार्य र बुइपाका वडाध्यक्ष दिनेश राईले उल्टो मोटरसाइकल चालक राईलाई गिनिज वल्ड रेकर्डस्को मेडल र प्रमाणपत्र हस्तान्तरण गरेका छन् । उनलाई वल्र्ड रेकर्ड फाउण्डेसन नेपालका अध्यक्ष चित्रकुमार कार्कीको उपस्थितिमा गिनिज वल्ड रेकर्डस्को मेडल र प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।
आफ्नै ठाउँमा केही रचनात्मक काम गर्न सकिन्छ भन्ने देखाउने सोचका साथ राईले उल्टो मोटरबाइक चलाउने अभ्यास सुरु गरेका थिए । सुरुमा साइकलमा गरिएको अभ्यासले नै उल्टो मोटरसाइकल चलाउने दक्षताको विकास गरेको राईले बताए । हाल कतिपय खेलकुद सम्वन्धी कार्यक्रममा उनले बाईक स्टण्ट प्रदर्शन गर्ने गरेका छन् ।
बुवा कृष्णकुमार र आमा कमला राईको पाँच भाई छोरामध्ये माइलो छोरा हुन् दिलीप । उल्टो मोटरबाइक चलाउन सकिन्छ भन्ने सुनेका उनले सोही अनुसार उल्टो साइकल चलाउने अभ्यास गर्दै गए । कैयौंपल्ट लडे, कति ठाउँ पछारिए । उत्तिकै चोटपटक लाग्यो, तर उनले हार खाएनन् । निरन्तर अभ्यास गर्दै र सिक्दैजाँदा उल्टो बसेर बाइक चलाउन दक्ष बनेको राई बताउँछन् । बुवासँग कामका सिलसिलामा उदयपुरतिर पुग्दा बाइक देखेपछि पनि उनमा उल्टोबाइक चलाउने सोच पलाएको हो ।
उल्टो साइकल चलाउनेक्रममा प्रहरीको नियन्त्रणमा पुग्नुपरेको तितो अनुभव पनि उनीसँग छ । सुरु–सुरुमा उल्टो साइकल चलाउँदा उनलाई खिसी गर्नेहरु कम थिएनन्, तर उनको जाँगर र कला देखेर हौस्याउने आफन्तका कारण उनलाई बिस्तारै सफलतातिर डो¥याएको हो । उल्टो साइकल चलाएर भ्रमण गर्दै गिनिजबुकमा नाम लेखाउने उनको धोको छ ।
क्याप्सन ः
गिनिज वल्ड रेकर्डस्को सम्मानपत्र ग्रहण गरेपछि तस्बिर खिचाउँदै दिलीप राई ।