स्व.धनबहादुर थापा मगर ।
खोटाङ, २६ बैसाख । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका वडाध्यक्ष धनबहादुर थापा मगरको निधन भएको छ । फोक्सोमा पानी जमेपछि बिरामी भएका थापा मगरको पाँच वर्षे कार्यकाल सकिन लाग्दा आइतबार राती २ बजे आफ्नै निवासमा निधन भएको हो ।
गत ७ बैसाखमा उपचारका लागि नोवेल अस्पताल बिराटनगरमा लगिएका थापा मगरलाई आइतबार राती ८ बजे घर ल्याइएको थियो । थापा मगर २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसकातर्फबाट वडाध्यक्षमा विजयी बनेका थिए । १५ मंसिर १९९७ मा जन्मिएका उनी गाउँपालिकाकै ज्येष्ठ जनप्रतिनिधि थिए ।
कांग्रेस दिप्रुङ चुईचुम्मा गाउँपालिका सभापति अमृत गिरीका अनुसार थापा मगरलाई अक्सिजन दिएर घर ल्याइएको थियो । पञ्चायत कालमा २०२२ सालदेखि राजनीतिमा लागेका थापा मगर २०३३ सालमा वडाध्यक्ष, २०३८ सालमा प्रधानपञ्च, २०४९ सालमा गाबिस अध्यक्ष र लोकतान्त्रिक गणतन्त्रपछि वडाध्यक्ष निर्वाचित भएका थिए ।