खोटाङ, ८ जेठ । सौन्दर्य प्रतियोगीतामा सहभागी युवतीलाई बलात्कार गर्ने दोषीलाई कारबाहीको माग गर्दै खोटाङको दिक्तेलबजारमा प्रदर्शन गरिएको छ । आठ वर्षअघि आयोजित ‘मिस ग्लोबल इन्टरनेसनल २०१४’ का प्रतिष्पर्धी युवतीलाई नशा खुवाएर बलात्कार गर्ने आयोजक मनोज पाण्डेलाई कारबाहीको माग गर्दै किशोरीको समुहले आइतबार दिक्तेको त्रिबेणीचोकमा प्रदर्शन गरेका हुन् ।
स्वःतस्फुर्त भेला भएका किशोरीको समुहले ‘बलात्कारीलाई सजाय दे, हद म्याद खारेज गर, सुन्दरी प्रतियोगीता खारेज गर, महिला शरीरको वस्तुकरण बन्द गर, सर्भाइभरलाई बिश्वास गर, बलात्कारले पोलेको, खै त राज्य बोलेको’ लगायतका नारा चर्काएका थिए ।
यौनजन्य हिंसा सम्वन्धी उजुरी दिने एक वर्षे हद म्यादले यौन हिंसामा परेका कैयौं महिला न्यायबाट बञ्चित हुने अवस्था देखिएकाले एक वर्षे हद म्याद संशोधन गर्नुपर्ने प्रदर्शनमा सहभागी अनिसा रम्तेलले बताईन् । किशोरीको बिरोध कार्यक्रमलाई किशोरले पनि साथ दिएका थिए ।
उनीहरु यौनजन्य हिंसाका बिरुद्धमा नारा लेखिएका कार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए । कार्यक्रममा रम्तेल, कृष्णा आचार्य, राधा भट्टराई, सर्मिला परियार, एल्मीका राई, बिष्णु उपरकोटी, घनश्याम ढकालले बलात्कारमा संलग्न दोषीमाथि कडा कारबाहीको माग राखेका छन् ।