खोटाङ, १४ जेठ । खोटाङका पूर्वपत्रकार मणिराम दाहालको शंकास्पद मृत्यु भएको भन्दै आफन्तले निष्पक्ष छानविनको माग माग गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ६३ वर्षीय दाहालको रहस्यमय मृत्यु भएको भन्दै आफन्तले शनिबार विरोध जुलुस प्रदर्शन गरेका छन् ।
दाहालको मृत्युका विषयमा छानविन गरी दोषी पत्ता लगाइनुपर्ने माग सहित आफन्तले जिल्ला अस्पतालदेखि जिल्ला प्रशासन कार्यालयसम्म नारा जुलुस निकालेका छन् । मृतकका आफन्त ‘मणिरामलाई न्याय दे, मोबाईल सार्वजनिक गर, घटस्थास्थलमा खटिएका प्रहरीलाई बर्खास्त गर’ लगायतका नारा लगाउँदै प्रशासन पुगेका हुन् । शवको जिल्ला अस्पतालमा पोष्टमार्टम गरिए पनि आफन्तले शव बुझ्न अस्वीकार गर्दै नारा जुलुसमा उत्रिएका हुन् ।
दाहाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको हाटडाँडास्थित क्षितिज बहुउद्धेश्यीय सहकारीको कार्यालयसँगै रहेको कोठामा शुक्रबार बिहान मृत फेला परेका थिए । घटनाको सर्जमिन मुचुल्का तयार पार्नेक्रममा दाहालको साथमा भएको मोबाइल हराएको भन्दै आफन्तले घटनालाई थप शंकास्पद मानेका छन् ।
मृतक परिवारले सोही मोवाइल पनि सार्वजनिक गर्न माग गरेका हुन् । घटनाको प्रकृति ‘मृत्यु नभै हत्या भएको’ छोरा नवराजले बताए । घटनाको विषयमा अहिले जिल्ला प्रशासन कार्यालयमा मृतक पक्ष र प्र्रशासनबीच छलफल भइरहेको छ ।
दाहालको शव सड्न लागेको र पहिचान गर्नै नसकिने अवस्थामा आफन्तले फेला पारेर खबर गरेका थिए । शव कोठामा खाटमा नभै भुईमा सिरकले ढाकेको अवस्थामा भेटिएको थियो । मुखबाट रगत निस्किएको, आँखामा निलडाम लागेको, नाइटो भन्दा माथिल्लो भाग निलो भएको अवस्थामा दाहालको शव भेटिएको स्थानीय भोजराज अधिकारीले बताए । दाहाल बस्दै आएको दुई कोठामध्ये एउटा कोठा लिपपोत गरिएको र ¥याल चुहिएको पाइएको छ ।
घटना प्रकृति शंकास्पद देखिएकाले सुक्ष्म ढंगबाट अनुसन्धान गर्नुपर्ने आफन्तको माग छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक उमेश लम्सालले बताए ।
दाहाल नेपाल पत्रकार महासंघ जिल्ला शाखाका संस्थापक सदस्य तथा नेपाल प्रेस युनियन जिल्ला शाखाका संस्थापक सह–संयोजक थिए । उनी क्षितिज बहुउद्धेश्यीय सहकारी संस्थाको वर्तमान अध्यक्ष, ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष र कांग्रेसका क्षेत्रीय प्रतिनिधि थिए ।