खोटाङ, १४ जेठ । शंकास्पद अवस्थामा मृत फेला परेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ६३ वर्षीय मणिराम दाहालको शव बुझ्न आफन्त तयार भएका छन् । दाहालको रहस्यमय मृत्यु भएको भन्दै छानविनको माग सहित विरोध प्रदर्शनमा उत्रिएका आफन्त घटनाको विषयमा अनुसन्धान समिति गठन गरेपछि शव बुझ्न तयार भएका हुन् ।
शनिबार जिल्ला अस्पतालबाट जुलुस प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेको मृतकका आफन्त, प्रशासन, प्रहरी लगायतको वार्ताले प्रहरी निरिक्षक शंकरप्रसाद चौधरीको संयोजकत्वमा पाँच सदस्यीय अनुसन्धान समिति बनाएपछि मृतक परिवार शव बुझ्न तयार भएका हुन् ।
समितिको सदस्यमा प्रहरी नायव निरिक्षक गोबिन्दकुमार खत्री, प्रहरी सहायक निरिक्षक कुमार बिष्ट, प्रहरी हवल्दार विपिन योगी, प्रहरी हवल्दार कैलाश लिम्बु र प्रहरी जवान सोमप्रसाद पहाडी राखिएका छन् । घटनाको विषयमा अनुसन्धान समिति बनाउने निर्णयसँगै मृतकका आफन्त शव बुझ्न तयार भएको वडाध्यक्ष खगेन्द्र राईले बताए ।
दाहाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको हाटडाँडास्थित क्षितिज बहुउद्धेश्यीय सहकारीको कार्यालय रहेको घरको आफ्नै कोठामा शुक्रबार बिहान मृत फेला परेका थिए । घटनाको सर्जमिन मुचुल्का तयार पार्नेक्रममा दाहालको साथमा भएको मोबाइल हराएको भन्दै आफन्तले घटनालाई थप शंकास्पद मानेका छन् ।
घटनाको प्रकृति ‘मृत्यु नभै हत्या भएको’ छोरा नवराज दाहालले दावी गरे । दाहालको मृत्युका विषयमा छानविन गरी दोषी पत्ता लगाइनुपर्ने माग सहित आफन्तले शनिबार जिल्ला अस्पतालदेखि जिल्ला प्रशासन कार्यालयसम्म नारा जुलुस प्रदर्शन गरेका थिए ।
दाहालको शव सड्न लागेको र पहिचान गर्नै नसकिने अवस्थामा आफन्तले फेला पारेर खबर गरेका थिए । शव कोठामा खाटमा नभै भुईमा सिरकले ढाकेको अवस्थामा भेटिएको थियो । मुखबाट रगत निस्किएको, आँखामा निलडाम लागेको, नाइटो भन्दा माथिल्लो भाग निलो भएको अवस्थामा दाहालको शव भेटिएको स्थानीय भोजराज अधिकारीले बताए ।
दाहाल बस्दैआएको दुई कोठामध्ये एउटा कोठा लिपपोत गरिएको र ¥याल चुहिएको पाइएको छ । घटना प्रकृति शंकास्पद देखिएकाले सुक्ष्मढंगबाट अनुसन्धान गर्नुपर्ने आफन्तको माग छ ।
मृतक दाहाल नेपाल पत्रकार महासंघ जिल्ला शाखाका संस्थापक सदस्य, नेपाल प्रेस युनियन जिल्ला शाखाका संस्थापक सह–संयोजक थिए । उनी क्षितिज बहुउद्धेश्यीय सहकारी संस्थाको वर्तमान अध्यक्ष, ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष र कांग्रेसका क्षेत्रीय प्रतिनिधि थिए ।