खोटाङ १४ जेठ : नेपाल पत्रकार महासंघ शाखा खोटाङले महासंघका संस्थापक सदस्य पूर्व पत्रकार मणिराम दाहालको मृत्यको विषयमा सत्यतथ्य पत्ता लगाउन र वास्तविकता बाहिर ल्याउन माग गरेको छ । महासंघका अध्यक्ष दिलीप खत्रीले जारी गरेको विज्ञप्तिमा प्रहरीसँगै नजिक रहेको स्थानमा भएको घटनाको विषयमा यथाशीघ्र अनुसन्धान गरी नतिजा बाहिर ल्याउन माग गरिएको छ ।
मृतक दाहाल नेपाल पत्रकार महासंघ जिल्ला शाखाका संस्थापक सदस्य तथा नेपाल प्रेस युनियन जिल्ला शाखाका संस्थापक सह–संयोजक थिए । उनी क्षितिज बहुउद्धेश्यीय सहकारी संस्थाको वर्तमान अध्यक्ष, ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष र कांग्रेसका क्षेत्रीय प्रतिनिधि थिए ।
यस्तै, नेपाल प्रेस युनियनले पनि दाहालको मृत्यको विषयमा सत्यतथ्य पत्ता लगाउन र वास्तविकता बाहिर ल्याउन माग गरेको छ । युनियनका सचिव चिसाङ शेर्पाले जारी गरेको विज्ञप्तिमा दाहालको मृत्यु अप्राकृतिक ढंगले भएको देखिएको हुँदा घटनाको विषयमा सत्यतथ्य पत्ता लगाउन माग गरिएको छ ।
