खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक ढलानको काममा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई ७ दिनभित्र काम सुचारु गर्न अल्टिमेटम दिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित बजारको सडक ढलानको काम अलपत्र पार्ने सुर्य विकास जेभीलाई हप्ता दिनभित्र काम सुचारु गर्न सोमबार पत्राचार गर्दै समयसीमा दिएको हो ।
पत्र पठाएको मितिले हप्ता दिनभित्र बजारको सडक ढलानको काम सुचारु नगरिए सार्वजनिक खरिद अनुगमन कार्यालय लगायतका निकाय बमोमिज कारबाहीका लागि सिफारिस गरिने नगरपालिकाले चेतावनी दिएको छ ।
लामो समयदेखि दिक्तेलबजारको सडक ढलान कार्य स्थगित हुँदा बजार क्षेत्रमा यतायात अवरुद्ध भएको, स्थानीयलाई हिँडडुल गर्न समस्या भएको, दुर्घटनाको जोखिम निम्तिएको तथा बजारबासीबाट व्यापक जनगुनासो आएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।
नगरपालिकाले अवरुद्ध काम ७ दिनभित्र निर्माण कार्य पुःन सुचारु गर्नका लागि आवश्यक पहल गर्न सघन शहरी तथा भवन निर्माण योजना, ओखलढुंगालाई निर्देशन दिएको छ ।
दिक्तेलबजारको मानव अधिकार चोकदेखि त्रिबेणीचोकसम्मको सडक ढलान गर्ने ठेक्का लिएको निर्माण कम्पनीले हाल बेस क्याम्प क्षेत्रमा पुगेर सडक ढलानको काम अलपत्र पारेको छ । आलटालको शैलीमा काम गर्दैआएको निर्माण कम्पनीले गत बैशाख दोश्रो साता यता काम ठप्प पारेको छ ।
निर्माण कम्पनीले सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाको २ करोड ६८ लाख वजेटमा २० मंसिर २०७८ सम्ममा बजार सडक ढलानको काम पूरा गर्नेगरी १० असार २०७८ मा सम्झौता गरेको थियो ।
दिक्तेलबजारको मानव अधिकारचोकदेखि बेस क्याम्पसम्मको सडक ढलानका क्रममा निर्माण कम्पनीले स्टीमेट विपरित रड राखेर ढलान गरेको थियो । १०/१० सेन्टिमिटरको दुरीमा बाँध्नुपर्ने रडलाई १८/२० सेन्टिमिटर र १५ सेन्टिमिटरको दुरीमा कस्नुपर्ने रडलाई २५/३० सेन्टिमिटरको दुरीमा कसेर ढलान गरिएको स्थानीयको दावी छ ।
अर्कातर्फ बजार सडक ढलानका क्रममा गिटीमाथि रडको जाली उचालेर ढलान गर्नुपर्नेमा रडको जाली नउचाली ढलान गरिएको, ठूलो आकारको गिटी प्रयोग गरेको स्थानीय बताउँछन् ।