खोटाङ, २९ जेठ । जिल्ला समन्वय समिति खोटाङका प्रमुख ववि चाम्लिङले पाँच वर्षमा भए÷गरेका कामको फेहरिस्त सार्वजनिक गरेका छन् ।
२० साउन २०७४ मा सम्पन्न जिल्ला समन्वय समितिको निर्वाचनबाट प्रमुखमा निर्वाचित भएका चाम्लिङले आफ्नो कार्यकालको अन्तिम दिन आइतबार पत्रकार सम्मेलन गर्दै पाँच वर्षको अवधिमा भएका कामको फेहरिस्त सार्वजनिक गरेका हुन् ।
जिल्ला समन्वय समितिको नयाँ नेतृत्व चयनका लागि तोकिएको निर्वाचनको अघिल्लो दिन चाम्लिङले पत्रकारसँग भेटघाट गरेका हुन् । जिल्लामा जनप्रतिनिधिको पोषाक र लोगो निर्धारणदेखि स्थानीय तह, प्रदेश र संघीय सरकार तथा संघसंस्थाबाट सञ्चालन भएका योजना, कार्यक्रमको अनुगमन, समन्वय र सहजीकरण गरेको प्रमुख चाम्लिङले बताए ।
यस्तै, संमृद्ध खोटाङ निर्माण अभियानमा गुणस्तरिय निर्माण सहित जनसेवी प्रशासनका लागि प्रभावकारी अनुगमन र समन्वयको आधारमा कार्य सञ्चालन गर्नेगरी सबैमा मार्ग निर्देशन गरेको, कोभिड–१९ को महामारीका समयमा जिसस प्रमुखको संयोजकत्वमा कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति गठन गर्दै महामारी रोकथाम तथा नियन्त्रण अभियान सञ्चालन गरिएको जानकारी दिइएको छ ।
कोभिड–१९ कै महामारीको बेला जिसस प्रमुख र उपप्रमुखको १५ दिनको र सदस्यको १० दिनको पारिश्रमिकबाट कुल १ लाख ५ हजार रकम प्रदेश नम्बर १ सरकारको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गरेको चाम्लिङले जानकारी दिए ।
यस्तै, जिल्ला समन्वय समितिको मौज्दात कोषमा रहेको ३ करोड २१ लाख रकममध्ये ५४ लाख जिल्ला समन्वय समिति र बाँकी रकम १० स्थानीय तहका लागि विनियोजन गरिएको छ । प्रदेश सरकार अन्तरगत रहेका कार्यालय सञ्चालन तथा व्यवस्थापन समिति प्रमुख रहेर काम गरेको, जिल्ला अस्पतालमा नयाँ स्वास्थ्य उपकरण थप तथा जनशक्ती व्यवस्थापनमा पहल गरेको चाम्लिङले बताए ।
‘जिल्ला अस्पतालमा मुटुको अप्रेसनपछि परिक्षण सेवा, थाइराइड परिक्षण, डिजिटल एक्स–रे, पोषण पुःर्नस्थापना गृह स्थापनामा पहल गरियो,’ चाम्लिङले भने, ‘दन्त चिकित्सक सेवा, व्लड बैंक स्थापना, जिल्ला अस्पतालको ५० शैया क्षमताको भवन निर्माण सुरु गर्नमा पनि समन्वय समितिको भुमीका रह्यो ।
विभिन्न पालिकामा आयुर्वेद स्वास्थ्य उपचार सेवा सुरु गरियो ।’ जिसस प्रमुख बनेपछि चाम्लिङले ‘विचार सहितको विकास संमृद्ध खोटाङ हाम्रो निकास’ भन्ने नारा अघि सारेका थिए ।