खोटाङ, ५ असार । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित साक्षरता प्राविका शिक्षिका गोमा कार्कीमाथि प्रअ लक्ष्मी पौडेलबाट हातपात भएको छ । आर्थिक पारदर्शीताको विषयमा विवाद हुँदा प्रअ पौडेलले शिक्षिका कार्कीमाथि शुक्रबार विव्यासको बैठकमा हातपात गरेकी हुन् ।
पानीपेटमा लात्ताले हान्दा स्वास्थ्यमा गम्भीर समस्या निम्तिएको शिक्षिका कार्कीले बताइन् । निरन्तर पेट दुख्ने र पिसाव नरोकिने समस्या देखिएपछि कार्कीलाई जिल्ला अस्पताल दिक्तेलले शनिबार नोवेल अस्पताल बिराटनगर रेफर गरेको जनाएको छ । उनको अहिले विराट मेडिकल कलेज बिराटनगरमा उपचार भईरहेको छ ।
पेटमा लात्ताले लागेपछि गम्भीर बनेकी कार्कीलाई आफन्तले शुक्रबार राती जिल्ला अस्पताल पु¥याएको थियो । बैठकमा कुटिएकी शिक्षिकाको घाजाँचका लागि आफन्तले शनिबार जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।
पाठ्यपुस्तकको १० हजार ८८५, सिपको १५ हजार, मसलन्दको १५ हजार, अडिटको १० हजार, मर्मतको ९ हजार, छात्रबृत्तिको ४ हजार ८००, इन्टरनेटको १२ हजार, इन्टरनेट रिजार्चको १२ हजार, दिवाखाजाको ३४ हजार ५९६ लगायत १ लाख ३२ हजार ९३१ को आयव्यायका बारेमा जिज्ञासा राख्दा आफुमाथि कुटपिट भएको शिक्षिका कार्कीको भनाइ छ । कार्की पनि सोही विद्यालयकी पूर्वप्रअ हुन् । यसअघि अप्रेशन गरेको ठाउँमा चोट लाग्दा स्वास्थ्य समस्या निम्तिएको अनुमान गरिएको छ ।
विव्यास अध्यक्ष सकुन्तला खत्रीले घटनाका बेला केही पर भएकाले ठेलाठेल भएको तर लात्तीले हानेको नदेखेको बताइन् । ‘यो भन्दा अघिको बैठकमा पनि उहाँहरुबीचमा आर्थिक हिसावको विषयमा विवाद भएको रहेछ,’ खत्रीले भनिन्, ‘शुक्रबारको बैठकमा पनि त्यही विषय निस्केर विवाद भएको हो । ठेलाठेल भएको देखेँ । पछि पेट दुख्यो भन्दै उहाँ (लक्ष्मी पौडेल) रुँदै हुनुहुन्थ्यो ।’ घटनाका विषयमा बुझ्न खोज्दा प्रअ पौडेलसँग सम्पर्क हुन सकेन ।