दिगो विकासका लक्ष्यहरुमा अपाङ्गता भएका व्यक्तिहरुका सवालहरु विषयक अन्तरक्रिया कार्यक्रम दिक्तेलमा सम्पन्न भएको छ । अन्र्तक्रिया कार्यक्रममा प्रमुख अतितिको रुपमा बोल्दै जिल्ला समन्यव समितिका उपप्रमुख सुरेश तामाङले अपाङ्गता भएका व्यक्तिहरुको पनि अन्य व्यक्तिहरुको जस्तै हरेक क्षेत्रमा नैसर्गिक अधिकार भएकाले त्यस पक्षलाई समेटेर अघि बढ्ने बताए ।
उपप्रमुख तामाङले अपाङ्गता भएका व्यक्तिहरुलाई उनीहरुको क्षमताका आधारमा विभिन्न ठाउँमा व्यवस्थापन र व्यवसायिक रुपमा अगाडी बढाउनुपर्ने कुरामा जोड दिए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का वडाध्यक्ष नवराज राईले अपाङ्गता भएका व्यक्तिहरुका लागि नगरपालिकासँग सरसल्लाह गरेर वडा र पालिकाबाट हुन सक्ने सहयोग गर्न वडा कार्यालय सदैब तयार रहेको बताए । आफुले अपाङ्ग भएका व्यक्तिहरुको समस्यालाई नजिकबाट हेरेको र अपाङ्ग व्यक्तिहरुको अवस्थाको बारेमा जानकारी लिई अपांगता भएका व्यक्तिहरुका लागि सरल र भरपर्दो कार्यक्रम ल्याई सहयोग गर्ने वडाध्यक्ष राईले बताए ।
यसैगरी, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्रीले अपाङ्गता भएका व्यक्तिहरुको कठिनाई र समस्याको बारेमा स्थानीय सरकारले पहल गर्नुपर्ने बताउदै उनीहरुलाई रोजगारी र उत्पादनसंग जोडेर लैजानुुपर्ने धारणा राखे ।
अपाङ्ग सेवा संघ खोटाङको आयोजना, राष्ट्रिय अपाङ्ग महासंघको समन्वय तथा नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको साझेदारीमा भएको कार्यक्रममा अपाङ्ग सेवा संघ खोटाङका पूर्व सचिव कृष्ण आचार्यले दिगो विकासका लक्ष्यहरुमा अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुहरुको बारेमा जानकारी गराएका थिए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ को वडा कार्यालयको सभा हलमा जिल्ला समन्यव समितिका उपप्रमुख तामाङको प्रमुख आतिथ्यता भएको कार्यक्रममा जिल्ला समन्यव समितिका सदस्य दुर्गाप्रसाद घिमिरे, वडाध्यक्ष राई, कार्यपालिका सदस्य अन्जना केसी (बस्नेत), वडा सदस्यहरु, अपाङ्ग व्यक्तिहरु लगायतको उपस्थिति रहेको थियो ।