शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

६ वर्षदेखि महिला तथा वालवालिका कार्यालय खोटाङमा लागेको ताला फोडियो  

६ वर्षदेखि महिला तथा वालवालिका कार्यालय खोटाङमा लागेको ताला फोडियो  

रोदिक खबर

४, भाद्र २०७९
  • 4.5K
    SHARES
  • ६ वर्षदेखि महिला तथा वालवालिका कार्यालय खोटाङमा लागेको ताला फोडियो  

    खोटाङ । करीव ६ वर्षदेखि महिला तथा वालवालिका कार्यालय खोटाङमा लागेको ताला फोडिएको छ । मुलुकमा स्थानीय सरकार आएसँगै गाउँपालिका तथा नगरपालिकामा कार्यालय गाभिएपछि लागेको ताला ६ वर्षपछि फोडिएको हो । महिला वालवालिका तथा समाज कल्याण मन्त्रालय, महिला तथा वालवालिका विभाग अन्तरगतको सो कार्यालयमा लागेको ताला शनिबार खोलिएको हो ।

    कार्यालयमा रहेका भौतिक सामग्री, उपकरण, र कार्यालय संचालानार्थ सामग्री आधाभन्दा बढी काम नदिने अवस्थामा भेटिएका छन् । कार्यालयमा रहेका कम्प्युटर, ल्याप्टप, पावर व्याकप, टिभि, र काठबाट बनेका टेवल, कुर्सी, दराज काम नलाग्ने अवस्थामा भेटिएका हुन् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगरप्रमुख तीर्थराज भट्टराई, जिल्ला समन्वय समितिका सदस्य दुर्गाप्रसाद घिमिरे, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाह, जिल्लास्थित राजनैतिक दलका प्रतिनिधि र प्रहरीको रोहवरमा कार्यालयमा रहेका सामग्रीको हिसाव किताव गरि थन्काइएको छ । 

    दिक्तेलस्थित कृषि ज्ञान केन्द्रको कार्यालय नजिक रहेको ८ कोठे सो कार्यालयमा २ कोठामा सामग्री राखेर अन्य कोठालाई आइसोलेसन निर्माण गर्न लागिएको छ । पछिल्लो समय जिल्लामा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढेको भन्दै नगरपालिकाले सो कार्यालयलाई आइसोलेसन  बनाउन लागेको हो ।

    साउन २५ गते प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईको संयोजकत्वमा बसेको जिल्ला कोभिड तथा संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) को बैठकले सो कार्यालयको भवनलाई आइसोलेसन बनाउने निर्णय गरेको थियो । 

    कोरोना भाइरसको संक्रमण बढ्दो रुपमा रहेको र पूर्वतयारी अवस्थामा रहनका लागि आइसोलेसन बनाउन कार्यालयको ताला फोडिएको नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । उनले भने, ‘प्रयोग विहीन अवस्थामा रहेको कार्यालयलाई त्यतिकै विग्रानु भन्दा आइसोलेसन बनाएर प्रयोगमा ल्याउन खोजेका हौं ।’

    नगरपालिकाकै बेवास्थाका कारण ताला

    दिक्तेल रुपाकोट मभुवागढी नगरपालिकाकै बेवास्थाका कारण सो कार्यालयमा ६ वर्षसम्म ताला लागेको हो । २०७४ सालमा भएको स्थानीय निर्वाचनपछि विजयी भएका जनप्रतिनिधिले नै बेवास्था गरेपछि कार्यालय प्रयोगविहीन त भयो नै कार्यालयमा भएका सामग्री समेत उपयोगविहीन भएका छन् ।

    नगरपालिकाले आफ्नो सुरुवाती चरणमा करोडौं मुल्य खर्च गरेर भौतिक सामग्री खरिद ग¥यो, यता महिला तथा वालवालिका कार्यालयमा करोडौं मुल्य बराबरका सामग्री कुहिएर गए । त्यो बेलाको स्थानीय सरकारले कोरोना भाइरससँग जुध्ने नामममा आइसोलेसन, क्वारीन्टीन निर्माण गर्न अन्य कार्यालयसँग दुःख बेसायो, आफ्नै मातहतमा रहेको कार्यालयमा ताला झुण्डाइरह्यो ।सरकारी सम्पतिको संरक्षण र जतन गर्न नगरपालिका र स्थानीय प्रशासन मुखदर्शक बनेको पाइएको छ । 

    छैन हिसाव किताव 

    नेपाल सरकार महिला वालवालिका तथा समाज कल्याण मन्त्रालय, महिला तथा वालवालिका विभाग अन्तरगतको सो कार्यालयको हिसाव किताव हालसम्म खोजी खवर छैन् । तत्कालिन महिला विकास निरीक्षक तथा सूचना अधिकारी भुवन राईले कार्यालयको हिसाव किताव हालसम्म नबुझाएको पाइएको छ । 

    स्थानीय सरकारलाई कार्यालय हस्तान्तरण नै नगरी उनी हिँडेको पाइएको हो । कार्यालयको चल अचल सम्पति कति भन्ने कुरा कसैसँग छैन्। न त कसैले खोजी नै गरेका छन् । महिला विकास निरीक्षक राईको कक्षमा एउटा डेक्सटप कम्प्युटर, एउटा इनभटर, एउटा प्रिन्टर र एउटा दराज भेटिएको छ । बाँकी ३ वटा कक्षमा पनि सोही सामग्री रहेका छन् । 

    किनेर ल्याएको तर प्रयोग नगरिएको सामग्री बढी मात्रमा भेटिएका छन् । महङ्गो मूल्य पर्ने टेवल, घुम्ने कुर्सी, दराजलगायतका सामग्री राईले कार्यालय छोड्ने बेलामा किनेको तर प्रयोग नगरेको अवस्थामा भेटिएका हुन् । कार्यालयमा प्रशस्त भौतिक सामग्री हुँदा हुँदै ति सामग्री खरिद गर्नु आर्थिक अनियमितता भएको हुन सक्ने अनुमान गरिएको छ । 

    प्रकाशित मिति :भाद्र ४, २०७९ शनिवार - १७:५६:०६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको