खोटाङ । खोटाङमा आत्महत्या दर रोकथाम तथा न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ। जिल्ला प्रहरी कार्यालयको आयोजनामा जिल्लाभरका सरोकारवाला पक्षहरुसँग आइतबार दिक्तेलस्थित समिक्षालय हलमा सचेतनामूलक कार्यक्रम गरिएको हो।

बिहान जिल्ला प्रशासन कार्यालयको प्राङगणबाट आत्महत्या दर रोकथाम तथा न्यूनिकरण सम्बन्धी विभिन्न प्ले कार्डसहित जनचेतनामूलक अडियो बजाउँदै रत्नपार्कसम्म ¥याली निकालिएको थियो। पुनः रत्नपार्कबाट ¥याली समिक्षालय हलमा पुगेर कार्यक्रममा परिणत भएको थियो।
खोटाङमा आयोजित एक कार्यक्रमका वक्ताहरुले समयमै लक्षण पहिचान गर्न सके आत्महत्या रोक्न सकिने बताएका छन् । बिश्व आत्महत्या रोकथाम दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय खोटाङले आयोजना गरेको कार्यक्रमका वक्ताहरुले सबै आत्महत्या रोक्न नसकिए पनि समयमै लक्षणहरु पहिचान गर्न सके आत्महत्या रोकथाम गर्न सकिने बताएका हुन् ।

जिल्ला समन्वय समितिको समिक्षालय हलमा आयोजित कार्यक्रममा जिल्ला अस्पतालका डा. नितु लामाले पटक–पटक आत्महत्याको विषयमा कुरा गर्ने मानिसले आत्महत्या गर्नसक्ने हुँदा त्यस्तो कुरा गर्ने साथीभाई, आफन्त, छिमेकीलाई समयमै सम्झाई बुझाई गर्नुपर्ने बताएकी छन् ।
‘प्रायः मानसिक रोग भएका मानिसहरुले आत्महत्या गर्ने गरेको पाइएको हुँदा आफ्नो टोल छिमेकमा त्यस्ता बिरामी देखिएमा उपचारका लागि पठाउनु पर्छ,’ डा। लामाले भनिन्, ‘आत्महत्या समस्याको समाधा होईन, समस्याको सुरुवात हो भनेर बुझाउन सक्नुपर्छ ।’ यस्तै, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक रामबालक रायले आत्महत्या गराउन सकने तरिका र पहुँच घटाउनुपर्नेमा जोड दिएका छन् ।
कीटनाशक, लागुपदार्थ, घरेलु हतियार, डोरी लगायतको पहुँचबाट मानसिक बिरामीलाई टाढा राख्नुपर्ने प्रहरी निरिक्षक रायको सुझाव छ । ‘डिप्रेसन, मद्यपान र सिजोफ्रेनिया जस्ता मानसिक समस्या भएका बिरामीको उपचार गर्ने ।
पूर्णरुपमा डिप्रेसनबाट बाहिर आउन साइकोथेरापि र औषधिद्धारा उपचार गर्नुपर्छ,’ प्रहरी निरिक्षक रायले भने, ‘आफैमा परिवर्तन, परिवारको मायाँ र समाजको साथले एउटा मानिसलाई मृत्युको मुखबाट हटाउन सक्छ र समाजमा आत्महत्या दर घटाउन सकिन्छ ।’ खोटाङमा आत्महत्या दर बढ्दोक्रममा देखिएको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा ४९ जना, आर्थिक वर्ष २०७७/०७८ मा ६७ जना, आर्थिक वर्ष २०७८र०७९ मा ६७ जनाले आत्महत्या गरेको तथ्यांक छ । आर्थिक वर्ष २०७९/०८० मा ९ जनाले आत्महत्या गरेको प्रहरी निरिक्षक रायले बताए । जिल्लाका १० स्थानीय तहमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आत्महत्या दर बढि देखिएको छ । सबैभन्दा कम जन्तेढुंगा, बराहपोखरी, केपिलासगढी र साकेला गाउँपालिकामा आत्महत्या दर कम देखिएको रायले बताए ।
दिवसको अवसरमा आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्वन्धी सचेतनामूलक र्याली निकालिएको थियो । प्रमुख जिल्ला अधिकारी सर्यप्रसाद सेडाईको प्रमुख आतित्थ्यमा भएको कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राई, प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारुङ लगायतको उपस्थिति रहेको थियो ।
आत्महत्याका मुख्य कारणहरु
आत्महत्या भन्नाले कुनै पनि व्यक्तिले जानीजानी आफ्नो जीवन आफैले समाप्त पर्ने कार्यलाई बुझिन्छ। असफलता, बेरोजगार, गरिबी, नकरात्मक सोच, आलुऔषध दुब्र्यसन, अत्याधिक मदिरा सेवन, मानसिक रोगी, महत्वकांक्षा, प्रेममा धोका, सामाजिक संजालको दुरुपयोग, छुवाछुत, अवहेलना, हालसालै घटेका तनाव दिने घट्नाहरु, कम गुणस्तरको जिवन शैली, पुरानो तनाव, पारिवारिक कलह, अघिल्लो आत्महत्याको प्रयास, अरुको सिको, अत्याधिक चिन्ता, अवैध गर्भ धारण, अभिभावकले बालबालिकालाई उचित समय दिन नसक्नु, बृद्धबृद्धाको उचित हेरचाह नहुनु।
आत्महत्या कसरी रोक्न सकिन्छ ?
आत्महत्या गराउन सक्ने तरिकामा पहुंच घटाउने(जस्तै, कीटनाशक, लागुपदार्थ, घरेलु हतियार, डोरी),विशेषगरी डिप्रेसन, मद्यपान र सिजोफ्रेनियाको बिरामीको उपचार गर्ने, मिडियाले जिम्मेवारीपूर्वक सामाग्री प्रसारण गर्ने, प्राथमिक स्वास्थ्य सेवा प्रदायकहरुलाई तालिम दिने, पूर्णरुपमा डिप्रेसनबाट बाहिर आउन साइकोथेरापि र औषधिद्धारा उपचार गर्ने, सकारात्मक सोचको विकास गर्ने, नियमित शारिरिक व्यायाम, योग तथा खेलकुदमा सामेल हुने साथै नयाँ स्थानमा घुमफिर गर्ने तथा मनोरञ्जन लिने। श्रोत : प्रहरी।