खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयमा बृद्धबृद्धा दाजुबहिनी विभत्स हत्या गरिएको अवस्थामा फेला परेका छन् । पेलेले भन्ने स्थानमा बस्दै आएका दाजु ७६ वर्षीय ईन्द्र श्रेष्ठ र बहिनी ६२ वर्षकी गोपीमायाँ श्रेष्ठ शुक्रबार दिउँसो घरभित्र मृत फेला परेका हुन् ।
घट्ना प्रकृति हेर्दा तीन/चार दिन अगाडि बृद्धबृद्धाको धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक नारायणप्रसाद चिमरियाले बताए । जंगल नजिकै एकान्त ठाउँमा रहेको घरको ढोकामा बाहिरबाट साङ्लो लगाएको अवस्थामा उनीहरुको शव भित्र भेटिएको हो ।
घट्नास्थल भोजपुरको सीमानामा पर्छ । वृद्धावृद्धावस्थाका दाजुबहिनी घरभित्रै मृत फेला परेको विषयमा जानकारी आएलगत्तै प्रनाउ चिमरियाको टोली शनिबार बिहान घट्नास्थल पुगेका थिए । बृद्धबृद्धा दाजुबहिनीको हत्याको कारण र हत्यामा संलग्नको पहिचान भएको छैन ।
भदौ १७ गते दिउँसो साँढे चार बजेसम्म उनीहरुलाई काम गरिरहेको देखेका आफन्तले सोही रात उनीहरुको हत्या गरिएको हुनसक्ने अनुमान गरेका छन् । गाईबस्तु भोकले कराउन थालेपछि छिमेकीले ढोका खोलेर हेर्दा उनीहरुलाई मृत फेला पारेको डम्बुर्खशिवालयका वडाध्यक्ष विदुरमान राईले बताए ।
घटनाको बारेमा जानकारी पाएपछि शुक्रबार साँझ ईलाका प्रहरी कार्यालय चिसापानीको टोली घट्नास्थल पुगेको थियो । मृतकको शरीरमा जताततै धारिलो हतियारको चोट लागेको देखिएको छ । घट्नास्थलमा फोन सम्पर्क नहुने भएकाले घट्नाको विवरण लिन समेत कठिन भएको थियो ।
मृतक ईन्द्र अविवाहित हुन् । बहिनी गोपीमायाँ भने लामो समयदेखि माइती घर फर्केर सामान्य पशल गरेर बस्दै आएकी थिईन् । गोपीमायाँको पोल्टामा भएका नगद तथा अन्य सामान बाहेक अन्य कुनै लुटिएको नदेखिएको वडाध्यक्ष राईले बताए । ‘पोल्टाको नगद र चिजविज बाहेक अरु लुटिए जस्तो देखिन्न । घरको दराज र बाकस जस्ताकोजस्तै छ,’ वडाध्यक्ष राईले भने, ‘कुन आशयले घट्ना घटाइयो । हामी नै अचम्मित भएका छौँ ।’
घट्नापछि गोपीमायाँका स्वदेशमै रहेका छोराहरु घर आइपुगेको स्थानीयले बताएका छन् । वृद्धवृद्धाको विभत्स हत्यापछि गाउँमा त्रास फैलिएको छ । घटनाका बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।