६७ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय खोटाङले अमर प्रहरीका परिवारलाई सम्मान गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय दिक्तेलमा अमर प्रहरीका तीन परिवारलाई दोसल्ला ओढाई सम्मान गरेको हो ।
प्रहरीको काम कर्तव्य पालना गर्ने क्रममा २०७६ असार २५ गते भोजपुरमा ज्यान गुमाएका हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका संजीव राईको श्रीमती नमुना राई र बुबा शेरबहादुर राईलाई प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाईले दोसल्ला ओढाई सम्मान गर्दै नगद पुरस्कार प्रदान गरेका हुन् ।
सम्मान तथा पुरस्कार ग्रहणका लागि आमा र बाजे (हजुरबुबा) सँगै संजिवका दुई छोरा प्रहरी कार्यालय दिक्तेलमा आएका थिए । स्वर्गीय संजीवका श्रीमती नमुना अमर प्रहरीहरुमा श्रद्धाञ्जली अर्पण गर्ने समय र पुरस्कार ग्रहणका समयमा भावविव्हल भएकी थिईन् । उनको आँखाभरी आँसु देखिएको थियो ।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरापालिका–१ दिक्तेल आचार्य गाउँका अमर प्रहरी जयप्रसाद आचार्य र दिक्तेल अस्पताल चोकका अमर प्रहरी नवराज ठाकुरका आमालाई सम्मान गरिएको छ । अमर प्रहरी आचार्यकी आमा कमलादेबी आचार्य र ठाकुरका आमा सरस्वतीदेवीलाई दोसल्ला ओढाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
