खोटाङको दिक्तेलस्थित शंखधर बैंक चौकमा बिहीबार साँझ दीप प्रज्वलन गरिएको छ । दिक्तेलबजार सामाजिक गुठी र नेवाः दये दबु खोटाङले शताब्दी पुरुष डा.सत्यमोहन जोशी र वरिष्ठ समाजशास्त्री तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव ओम गुरुङको सम्झनामा दीप प्रज्वलन गरेको दिक्तेलबजार सामाजिक गुठीका सचिव नुरकाजी सैंजुले जानकारी दिए ।
संस्कृतिविद् एवम् वाङ्मय पुरुष जोशीको वि.सं २०७९ साल असोज ३० गते बिहान १०३ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको थियो भने गुरुङको उपचारको क्रममा सोमबार हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालमा निधन भएको हो ।
शताब्दी पुरुष डा. सत्यमोहन जोशीको जन्म विसं. १९७७ साल वैशाख ३ गते ललितपुरको बखुम्बहालमा भएको थियो । बाबु शंकरराज जोशी र आमा राजकुमारी जोशीका ज्येष्ठ सुपुत्रका रूपमा जन्मिएका थिए । उनले त्रिचन्द्र कलेजबाट विएसम्म अध्ययन गरेका थिए । जोशी नेपालका संस्कृतिविद, साहित्यकार पनि हुन् ।
नेपालका विभिन्न गाउँगाउँ गएर उनले विरही गीत संकलन गर्दै जाँदा उनले ‘लोक संस्कृति’ नामक पुस्तक लेखेका थिए । पछि गएर यही पुस्तकले २०१३ सालमा मदन पुरस्कार पाएको थियो । मदन पुरस्कार गुठीको स्थापनाकालमा नै उनले उक्त पुरस्कार प्राप्त गरे । नेपालमा लिच्छविकालदेखि आधुनिक नेपालसम्म प्रयोग भएका मुद्राहरूको खोजी गरेर यही सेरोफेरोमा लेखिएको ‘नेपाल राष्ट्रिय मुद्रा’ नामक पुस्तकका लागि २०१७ सालमा उनले दोस्रो पटक मदन पुरस्कार पाए। तेस्रो पटक २०२८ सालमा उनले ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि मदन पुरस्कार पाए । अहिलेसम्म तीन पल्ट मदन पुरस्कार पाउने उनी एक्ला व्यक्ति हुन् ।
जोशी २०१५ सालमा पुरातत्व विभाग (नेपाल)को पहिलो निर्देशक बनेका थिए । त्यसबेला उनी ३८ वर्षको थिए । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाबाट वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्बीर अंकित चाँदीको सिक्का निस्कासन गरिएको छ। दुई हजार पाँच सयका २५ हजार थान, एक हजारका २५ हजार थान र रु एक सयको १० हजार थान दरको सिक्कामा एकातिर जोशीको तस्बीर छ भने अर्कोतिर सगरमाथाको तस्बीर छ ।
नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकासमा लागिपरेकाले उहाँको योगदानको कदरस्वरूप जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौं विश्व विद्यालयले विद्यावारिधिको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ । नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मान गरेको छ ।
सत्यमोहन जोशीका संस्कृतिसम्बन्धी १० पुस्तक प्रकाशित छन् भने दुई वटा काव्य, पाँच कथासंग्रह, १० वटा नाटक र केही नेवारी भाषाका कृतिहरू लेखेका छन् । समालोचकहरूले उनका ५० पुस्तक प्रकाशित भएको जनाएका छन् । तीमध्ये उनका २० पुस्तकलाई महत्वपूर्ण पुस्तक मानिएको छ ।
यस्तै, ६८ वर्षीय गुरुङ क्यान्सरबाट पीडित थिए । मानवशास्त्री गुरुङ त्रिभुवन विश्वविद्यालय समाजशास्त्र तथा मानवशास्त्र विभागका पूर्वप्रमुख पनि हुन् ।
उनी प्राध्यापनका साथै लेखनमा पनि सक्रिय थिए । त्रिभुवन विश्वविद्यालयमा लामो समय अध्यापन गराएका मानवशास्त्री तथा समाजशास्त्री गुरुङको जन्म बाग्लुङमा भएको थियो । उनका श्रीमती, एक छोरा र दुई छोरी छन् ।