खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका वडा सदस्य पदमकुमारी नेपालीको मृत्यु भएको छ । दाँत दुख्ने समस्याले गिँजा पाकेपछि सिकिस्त भएकी ३९ बर्षिय वडा सदस्य नेपालीको बुधबार राती २ बजे मृत्यु भएको हो ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गिँजाको शल्यक्रियापछि बिराट नर्सिङ होम रेफर गरिएकी नेपालीको इटहरी नपुग्दै मृत्यु भएको हो ।
जिल्ला अस्पताल दिक्तेलले रेफर गरेपछि तीन दिनअघि उनलाई धरान पुर्याइएको थियो । धरानमा आइसियू अभाव भएको भन्दै रेफर गरेपछि बिराटनगर लैजानेक्रममा नेपालीको मृत्यु भएको भाई बिजय नेपालीले बताए ।
लामो समयदेखि दाँत दुख्ने समस्याबाट ग्रसित उनको गिँजा काटेर पिप निकालिएको थियो । शल्यक्रिया गरेको एक घण्टासम्म नेपालीको अवस्था सामान्य थियो । सिकिस्त अवस्थामा पुगेको बेला विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइसियूको अभाव देखाउँदै लापरवाही गरेको श्रीमान बलराम चर्माकारले बताए ।
नेपाली गत ३० बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा बिजयी भएकी थिईन् । उनी नेकपा माओवादी केन्द्रको पालिका कमिटि सदस्य हुन् । उनका दुई जना छोरा छन् ।
यस्तै, वडा सदस्यको निधन भएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिकाले शुक्रबार सार्वजनिक विदा दिने भएको छ । वडा सदस्य पदम कुमारी नेपालीको निधन भएपछि भोली एक दिन सार्वजनिक विदा दिईएको गाउँपालिकाले जनाएको छ ।