आइतवार, कार्तिक १६ गते २०८३

बिदा भए खोटाङका म्यादी प्रहरी

बिदा भए खोटाङका म्यादी प्रहरी

रोदिक खबर

८, मंसिर २०७९
  • 2.4K
    SHARES
  • बिदा भए खोटाङका म्यादी प्रहरी

    खोटाङ, । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि मङ्सिर ४ गते भएको निर्वाचनको सुरक्षामा खटिएका म्यादी प्रहरी (अस्थायी)लाई बिहीबार सरकारले बिदाई गरेको छ ।

    गत ३० असोजमा नियुक्ती भएका म्यादी प्रहरीलाई बिहिबार एकैसाथ सरकारले बिदाई गरेको हो । नेपाल प्रहरीले गत असोज ३० गते निर्वाचनको सुरक्षार्थ खटाउनका लागि खोटाङमा भर्ना गरिएका एक हजार १७६ जना म्यादी प्रहरीलाई बिदा गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारुङले बताए ।

    निर्वाचन सम्पन्न भएसँगै सरकारले म्यादी प्रहरीलाई धन्यवाद तथा प्रमाणपत्रसहित बिदाई गरेको हो । बिदाईसँगै म्यादी प्रहरीहरूले छोटो समयका लागि भए पनि राष्ट्रको सेवा गर्न पाएको भन्दै खुसी व्यक्त गरेका छन् ।

    बिदाईकै शीलशीलमा जिल्ला प्रहरी कार्यालय खोटाङमा भेटिएका केही म्यादी प्रहरीहरूले आफ्नो अनुभव साटेका छन्। आफ्ना योजनाहरू साटेका छन् । छोटो समय नेपाल प्रहरीको संगठनमा रहेर काम गर्दा आफूमा हुनुपर्ने अनुशासन, ठुलालाई सम्मान र सानालाई गर्नुपर्ने मायाको ठुलो पाठ सिक्न पाएकोमा उनीहरू दङ्ग थिए ।

    ४० दिन मात्रै भए पनि देशको सेवा गर्न पाइने लोभले म्यादी प्रहरी बनेकाहरूमा आर्थिक उपार्जनसँगै अनुभवको प्रमाण–पत्रको लोभ पनि उत्तिकै देखिन्थ्यो । म्यादी प्रहरीले ड्यूटीका क्रममा बोकेका लठ्ठी बुझाएर प्रमाण–पत्र बुझेर घर फर्किएका छन् ।

    जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय हलेसी, ईलाका प्रहरी कार्यालय ऐसेलुखर्क, ईलाका प्रहरी कार्यालय बाक्सिला, ईलाका प्रहरी कार्यालय खोटाङबजार, ईलाका प्रहरी कार्यालय चिसापानी लगायतका यूनिटबाट म्यादी प्रहरीको बिदाई गरिएको छ ।

    दिक्तेलबजारमा विजय जुलुस निकालिइरहँदा जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीको भव्य बिदाइ भइरहेको थियो । घर फर्कन लागेका म्यादी प्रहरीले जिल्ला प्रहरी कार्यालयको प्रांगणमा सामुहिक तस्बीर कैंद गरिरहेको दृश्य देखिएको थियो । कतिपयले सेल्फी खिचिरहेका थिए । कतिपयले म्यादी प्रहरीको रुपमा काम गर्न ‘मज्जा भएको’ प्रतिक्रिया दिएका छन् ।

    प्रकाशित मिति :मंसिर ८, २०७९ बिहिवार - २३:१३:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको