शुक्रवार, भाद्र २६ गते २०८३

हलेसीमा आठ दिने पर्यटक गाइड तालिम सुरु

हलेसीमा आठ दिने पर्यटक गाइड तालिम सुरु

रोदिक खबर

२७, पौष २०७९
  • 3.7K
    SHARES
  • हलेसीमा आठ दिने पर्यटक गाइड तालिम सुरु

    खोटाङ ।  खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा स्थानीय पर्यटक गाइड तालिम सुरु भएको छ । हलेसीमा आउने पर्यटकहरुलाई त्यसको महत्व बुझाउन स्थानीय पर्यटक गाइड राखिने गरी तालिम सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

    हलेसी मन्दिर व्यवस्थापन समितिको सभाहलमा बुधबारबाट सुरु भएको तालिम आठ दिनसम्म सञ्चालन हुनेछ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान काडमाण्डौ सँगको सहकार्यमा नगरपालिकाले तालिमको आयोजना गरेको हो ।

    नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका विभागीय प्रमुख अजयकुमार ढकाल, वरिष्ठ प्रशासन अधिकृत नरेश डंगोल, सह–प्राध्यापक तथा संस्कृत विद् डा.लोकनाथ दुलाल, बौद्ध धर्मगुरु पुण्यप्रसाद पराजुली र किरात मुन्धुम अध्धेता भोगीराज राईले सहजीकरण  गरिरहेका छन् । 

    गाइड सम्बन्धि तालिमका लागि नगरपालिकाले मंसिर ८ गते सूचना निकालेको थियो । जसमा ३३ जनाको आवेदन परेकोमा २ जनाको प्रक्रिया नपुगेको महादेवस्थानका वडाध्यक्ष एवं नगर प्रवक्ता कमल गिरीले जानकारी दिए । ३१ जना मध्ये तालिममा ७ महिला र १८ पुरुष गरी २५ जना सहभागी भएका छन् । 

    तालिम सम्पन्न पश्चात उनीहरुलाई सुचिकृत गरेर राखिनेछ । गाइड सम्बन्धि कार्यविधि निर्माण गरेर तालिम लिएकाहरुलाई गाइडको रुपमा परिचालन गर्ने नगरपालिकाले जनाएको छ ।

    पर्यटकहरुलाई हलेसी र आसपासका धार्मिक तथा पर्यटकीयस्थलको महत्वको विषयमा विभिन्न ढंगले वर्णन गर्ने गरेको हुँदा अब आधिकारिक गाइडबाट आधिकारिक रुपमा पर्यटक तथा भक्तालुजनलाई यसको महत्व तथा वास्तविकता भनिने नगरप्रमुख विमला राईले बताइन् ।

    ‘विभिन्न धारणाका साथ हलेसी, ताराखसे, तुवाचुङ लगायतका पर्यटकीय स्थललाई वर्णन तथा व्याख्या गर्ने गरेको पाइएको छ । जसकारण त्यसको ऐतिहासिकता गुम्दै गएकाले विषय विज्ञबाट तालिम प्रदान सुरु भएको छ । आगामी दिनमा आधिकारिक गाइड हलेसीमा हुनेछन्, नगरप्रमुख राईले भनिन् ।  

    धार्मिक तथा सांस्कृतिक रुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । हलेसीमा महादेवगुफा, पापद्वार, धर्मद्वार, भैरवगुफा, बसाहागुफा लगायत अवलोकन गर्न र पूजाआजा गर्न नेपालका विभिन्न जिल्लासँगै भारत, बंगलादेश, भुटान लगायतका देशबाट पनि भक्तजनहरु आउने गरेका छन् ।  

    हलेसीमा हिन्दु, बौद्ध र किरात धर्म मान्नेहरु आ–आफ्नै तरीकाले पूजापाठ गर्ने गर्छन । हिन्दु धर्ममा आस्था राख्नेहरुले यसलाई पशुपतिनाथको रुपमा, बौद्ध धर्मावलम्बीहरुले दोस्रो लुम्बिनीको रुपमा र किरात धर्मावलम्बीहरुले आदिम भूमीको रुपमा पूजा–आजा गर्ने गरेका छन ।

    हिन्दु, बौद्ध र किरात तिनै वटा धर्महरुको आ–आफ्नै छुट्टै इतिहास रहेको जानकारहरु बताउछन् । सोही आधिकारिक जानकारी पर्यटकलाई दिन नगरपालिकाले गाइड राख्नको लागि बुधबारबाट तालिम प्रदान गर्न सुरु गरेको बताइएको छ । तालिमको उद्घाटन कार्यक्रममा नगरप्रमुख राई,  प्रमुख जिल्ला अधिकारी, सुर्यप्रसाद सेडाइ, सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाह, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, हलेसी तुवाचुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्य, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । 

    ha1.jpg

     

    प्रकाशित मिति :पौष २७, २०७९ बुधवार - २०:३१:०१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको