• ट्रेण्डिङ:

साकेलाको पहिलो आवधिक योजना बनाईदै, योजना तर्जुमाका लागि विभिन्न समिति गठन

साकेलाको पहिलो आवधिक योजना बनाईदै, योजना तर्जुमाका लागि विभिन्न समिति गठन

रोदिक खबर

३, फाल्गुण २०७९
  • 2.7K
    SHARES
  • साकेलाको पहिलो आवधिक योजना बनाईदै, योजना तर्जुमाका लागि विभिन्न समिति गठन

    साकेला । गाउँपालिकालाई आगामी पाँच वर्षभित्र समृद्ध र दिगो विकासमैत्री बनाउने उद्देश्यका साथ साकेला गाउँपालिकाले पहिलो आवधिक (पञ्चवर्षीय) योजना बनाउन सुरु गरेको छ । आवधिक योजना निर्माणका लागि आ.व. २०७९÷०८० को बजेट नीति तथा कार्यक्रमबाट गाउँपालिकाले बजेट विनियोजन गरेको थियो । 

    विगत र वर्तमानबाट लिएका ज्ञानबाट भविष्यप्रति संवेदनशिल बनेर गाउँपालिकालाई समृद्ध बनाउन आवधिक योजना अघि सारिएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए । साकेला गाउँपालिकालाई कस्तो बनाउने भन्ने हाम्रै हातमा रहेको बताउँदै अध्यक्ष राईले शब्दमा मात्र नभई व्यवहारमा गाउँपालिकालाई समृद्ध बनाउन सबै लागि पर्नुपर्ने र त्यसका लागि समयलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

    गाउँपालिका राईले भने विकसित देशहरुमा पैसालाई हैन समयलाई महत्व दिन्छन्, हामीले पनि समयलाई चिन्न सक्यौं भने गाउँपालिका बन्न धेरै समय लाग्दैन । साकेला गाउँपालिकाले निर्माण गर्न लागेको पहिलो आवधिक योजना निर्माणका लागि मंगलबार योजना तर्जुमा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । 

    सेन्टर फर सस्टेनेवल डेभलपमेन्ट स्टडिज प्रालि (सिडिएस)को प्राविधिक सहयोगमा निर्माण हुन लागेको आवधिक योजनाले आर्थिक, सामाजिक, भौतिक, वातावरण तथा विपद्, संस्थागत विकास तथा सुशासन लगायतको क्षेत्रमा गरिने विकासको आधार तय गर्नेछ । 
    जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको प्रमुख आथित्यतामा भएको अभिमुखिकरण कार्यक्रमबाट आवधिक योजना निर्माणका लागि विभिन्न संयन्त्रहरु निर्माण गरिएका छन् ।

    संयन्त्र अन्तर्गत आर्थिक विकास समिति संयोजकमा १ नं. वडा अध्यक्ष हेमन राई, सामाजिक विकास समितिको संयोजकमा ३ नं. वडाका वडाअध्यक्ष गोविन्द तामाङ, पूर्वाधार विकास समितिमा २ नं. वडाका वडाअध्यक्ष जितेन्द्र कुमार राई, वातावरण तथा विपद व्यवस्थापन समितिमा ४ नं. वडाका वडाध्यक्ष अर्जुन कुमार कटवाल र संस्थागत विकास तथा सुशासन समितिमा ५ नं. वडाका वडाअध्यक्ष जीवन खत्री रहेका छन् । 

    यसरी निर्माण गरिएको संयन्त्रको सदस्यहरुमा कार्यपालिका सदस्य, गाउँसभा सदस्य, विषयविज्ञ नागरिक तथा विषयगत शाखाका कर्मचारीहरुलाई समेत समेटिएको छ । त्यस्तै गाउँपालिका अध्यक्ष संयोजक, उपाध्यक्ष सदस्य र प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहनेगरी आवधिक योजना निर्माण निर्देशक समिति समेत निर्माण गरिएको छ भने साकेलामा जन्मिएर राज्यको विभिन्न तह र तप्कामा पुगेका सांसद, कर्मचारी, राजनीतिज्ञ, व्यवसायीहरु सल्लाहकार समितिमा रहनेछन् ।
    यसैबीच, अभिमुखिकरण तथा कार्यतालिका तयारी सँगै वस्तुस्थिति विष्लेषणका लागि वडास्तरीय छलफल कार्यक्रम समेत सुरु गरिएको छ । जस अन्तर्गत फागुन ३ गते बुधबार (आज) वडा नं ५, फागुन ५ गते वडा नं. २ र ३ तथा फागुन ६ गते वडा नं. १ र ४ मा छलफल हुने छ । उक्त छलफलमा विद्यालय, टोल सुधार समिति, राजनैतिक दलका प्रतिनिधिहरु, संघसंस्था र वुद्धिजीविहरुको उपस्थिति रहने बताईएको छ ।

    प्रकाशित मिति :फाल्गुण ३, २०७९ बुधवार - १३:२८:५६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको