• ट्रेण्डिङ:

खोटाङमा दुर्लभ वन्यजन्तु रेडपाण्डा संरक्षण कार्यक्रम सुरु

खोटाङमा दुर्लभ वन्यजन्तु रेडपाण्डा संरक्षण कार्यक्रम सुरु

रोदिक खबर

५, फाल्गुण २०७९
  • 2.8K
    SHARES
  • खोटाङमा  दुर्लभ वन्यजन्तु रेडपाण्डा संरक्षण कार्यक्रम सुरु

    दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाब्रे) संरक्षणका लागि खोटाङमा कार्यक्रम सञ्चालन हुने भएको छ । रेडपाण्डा नेटवर्कको सहयोगमा जनकल्याण समाज नेपाल, लामीडाँडाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका र केपिलासगढी गाउँपालिका–१ फेदीमा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सुरु गर्ने भएको हो ।

    चालु आर्थिक वर्ष पाथेका र फेदीका सात वटा सामुदायिक वनमा सर्भे तथा अनुसन्धान गर्ने र चार वटा सामुदायिक वनमा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन हुने जनकल्याण समाज नेपालका अध्यक्ष एबं लामीडाँडाका वडाध्यक्ष बिरेन्द्र मगरले बताए ।

    करिब दुई हजार दुईसयदेखि चार हजार मिटरको उचाईमा रहेका जंगल, विशेषगरी पानीका स्रोत भएको क्षेत्रमा रेडपाण्डाको बसोबास हुने भएकाले सुरुवाती चरणमा यस कार्यक्रममार्फत रेडपाण्डाको अनुसन्धान, अनुगमन  र संरक्षण गर्ने, शिक्षा तथा जनचेतना अभिवृद्धि गर्ने, बासस्थान व्यवस्थापन गर्ने र दीगो जीविकोपार्जनका क्रियाकलाप सञ्चालन गरिने समाजले जनाएको छ ।

    यस्तै, रेडपाण्डाको उपस्थिति÷अनुपस्थिति सर्वेक्षण, वन संरक्षकको भर्ती, रेडपाण्डा र बासस्थानको नियमित अनुगमन, चोरी शिकार विरुद्ध अभियान, वन संरक्षकका लागि तालिम, रेडपाण्डा इको क्लब गठन, रेडपाण्डा संरक्षण छात्रवृत्ति, रेडपाण्डा संरक्षण सचेतना कार्यशाला, विद्यालयमा रेडपाण्डा पर्खाल बुलेटिन प्रकाशन, निजी नर्सरीलाई सहयोग, सीमान्तकृत समुदायका लागि पोली हाउस सहयोग लगायतका गतिविधि सञ्चालन गरिने समाजका अध्यक्ष मगरले जानकारी दिए ।

    आर्थिक वर्ष २०७९÷०८० मा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालनका लागि समाजलाई रेडपाण्डा नेटवर्कले २८ लाख ८६ हजार सात सय बजेट उपलव्ध गराएको छ । 

    प्राप्त बजेटबाट रेडपाण्डा संरक्षण सम्वन्धी सञ्चालन गरिने गतिविधिका बारेमा जानकारी दिन शुक्रबार जिल्ला समन्वय समिति दिक्तेलमा जिल्ला स्तरिय सल्लाहकार समितिको गोष्ठी गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाई, सुरक्षा प्रमुख, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, सामुदायिक वन उपभोक्ता महासंघ खोटाङका अध्यक्ष राजेन्द्र राई लगायतको उपस्थिति रहेको थियो ।

    फेदीको बगाले, चिलिम लाहुरे, फुङगालुङ र छिमालुङ सामुदायिक बनमा लोपोन्मुख बन्यजन्तु रेडपाण्डाको बसोबास रहेको छ । यस्तै, चिउरीडाँडाको सिस्नेहर्कटे, निर्मलीडाँडाको गोपिनी नायपा वन र पाथेकाको कोप्चेभालुखोप सामुदायिक वनमा क्षेत्रमा पर्ने चुलिडाँडा देउराली जङ्गगलमा रेडपाण्डाको बसोबास रहेको दावी गरिएको छ ।

    रेडपाण्डा नेटवर्कले एक दशकअघि गरेको अनुसन्धानबाट पनि फेदी, पाथेका, खार्ताम्छा र सुङ्देलमा रेडपाण्डाको बसोबास रहेको पुष्टि भएको थियो । गुराँस, खस्रु, निगालो र मालिङ्गो मिश्रित बनमा पाईने रेडपाण्डाको संरक्षणबाट हिमाली क्षेत्रको पर्यटन प्रबर्धनमा सहयोग पुग्ने र जीविकोपार्जनमा सहयोग पुग्ने भएकाले संरक्षण अभियान थालिएको हो ।

    प्रकाशित मिति :फाल्गुण ५, २०७९ शुक्रवार - २१:३९:५० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको