खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–५ चिप्रिङमा वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सुरु गरिएको छ । बैदेसिक रोजगारलाई सुरक्षित र उपलव्धीमुलक बनाउने उद्धेश्यले सामी कार्यक्रम अन्तरगत गाउँपालिकाले वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सुरु गरेको हो ।
बैदेसिक रोजगारमा संलग्न परिवारलाई सहभागी गराएर वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सुरु गरिएको हो । वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा हप्ताको एक पटक दुई घण्टाका दरले सञ्चालन गर्ने व्यवस्था मिलाइएको गाउँपालिकाका बैदेसिक रोजगार शाखा प्रमुख युवराज कालिकोटेले बताए ।
कक्षामा सहभागीलाई गाउँपालिका अध्यक्ष उदिमबहादुर राईले छलफलका क्रममा प्रयोग हुने किताव, पासबुक, कापी, कलम, पेन्सिल र इरेजर प्रदान गरेका छन् । वित्तीय साक्षरताको अभाव हुँदा बैदेसिक रोजगारबाट प्राप्त हुने रेमीट्यान्सको सही सदुपयोग हुन सकेको छैन । कतिपयले लघुवित्तबाट लिएको ऋण सही ठाउँमा परिचालन गर्न नसक्दा र समयमा तिर्न नसक्दा लघुवित्तले गोठको वस्तुभाउ तानेर लगिदिने गरेका छन्
यही कारण घरमा झै–झगडा, बेमेल र पारिवारिक द्धन्द्ध हुने गरेको छ । वैदेसिक रोजगारीका कारण निम्तिने यिनै समस्या हल गर्नका लागि वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सहयोगी हुने गाउँपालिका अध्यक्ष राईले बताए । खोटेहाङ गाउँपालिकामा चार वटा समुह बनाएर वित्तीय साक्षरता कक्षा सञ्चालनको व्यवस्था मिलाइएको छ ।
चिप्रीङमा एक वटा र खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेमा तीन वटा समुह निर्माण गरी कक्षा सञ्चालनको व्यवस्था गरिएको कालीकोटेले जनाए । वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षाले महिलाको क्षमता विकास, विप्रेषणको सही परिचालन, परिवारलाई आम्दानीमा जोड्ने, पारिवारिक सम्वन्ध सुमधुर बनाउन टेवा पुग्ने आशा गरिएको छ ।
कक्षामा सदर चाम्लिङ राईले सहजीकरण गरिरहेका छन् । कक्षा उद्घाटन कार्यक्रममा सामीका फोकल पर्सन सुजन राई, शिक्षक, विव्यास अध्यक्ष, स्वास्थ्यकर्मी, कृषि तथा पशु प्राविधिक, स्थानीय अगुवा बुद्धिजिवी, वैदेसिक रोजगारसँग सम्वद्ध स्थानीयवासीको उपस्थिति रहेको थियो ।