खोटाङ । वन डढेलो व्यवस्थापन सम्बन्धि डिभिजन वन कार्यालय खोटाङले जनचेतनामूलक कार्यक्रम गरेको छ । डिभिजन वन कार्यालय खोटाङ र जिल्ला प्रहरी कार्यालय खोटाङको संयुक्त आयोजनामा एक सातासम्म सञ्चालन भएको जनचेतना जागरण कार्यक्रमको मंगलबार समापन गरिएको हो ।
दिक्तेलस्थित रत्नपार्कदेखि शुरु भएको डढेलो तथा व्यवस्थापन सम्बन्धि जनचेतनामुलक ¥याली वाणिज्य बैंक हुँदै जिल्ला समन्वय समितिको समिक्षालय हलमा पुगेर औपचारिक कार्यक्रम गरी जनचेतना जागरण सप्ताहको समापन गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाइले कर्मकाण्डी हिसावले मात्र कार्यक्रम गरेर नहुने बताउदै वन डढेलो, आगलागी जस्ता विषयहरुमा जनचेतनाका कार्यक्रम वर्षमा एक दिन मात्र नभएर हरेक दिन गरिनुपर्ने उल्लेख गरे ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का वडाध्यक्ष नवराज राईले यस्ता जनचेतनामुलक कार्यक्रम गर्दा स्थानीइ तहसँग सहकार्य र साझोदारी गरेरकामर गर्नुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी सेडाईको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा डिविजन वन कार्यालयका प्रमुख जगदिश रेग्मीले डढेलो लाग्ने तरिका, त्यसलाई निभाउने उपाय, त्यसको असर र व्यवस्थापनको विषयमा प्रस्तुती गरेका थिए ।
यस्तै, कार्यक्रममा प्रजिअ सेडाइ, वडाध्यक्ष राईसँगै जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारुङ, गोरखनाथ गण मुडे ब्यारेकका सेनानी सरोज भण्डारी, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र राई, नेपाल रेडक्रस सोसाइटी खोटाङका मन्त्री छत्रकुमार बजिमय लगायतको उपस्थिति रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय खोटाङ र गोरखनाथ गण मुडे ब्यारेकलाई वन डिभिजन कार्यालयले अग्नि नियन्त्रण गर्ने सामाग्री प्रदान गरेको छ ।
अग्नि नियन्त्रण सञ्जाल गठन
डिभिजन वन कार्यालय खोटाङले अग्नि नियन्त्रण सञ्जाल गठन गरेको छ । जिल्ला प्रशासन कार्यालय खोटाङ संयोजक रहेको सञ्जालको सदस्यहरुमा जिल्लाका सबै नगरपालिका तथा गाउँपालिका, जिल्ला प्रहरी कार्यालय, गोरखनाथ गण मुडे ब्यारेक, सशस्त्र प्रहरी वल नेपाल, नम्बर ७ गुल्म हलेसी, नेपाल पत्रकार महासंघ, नेपाल रेडक्रस सोसाइटी, सामुदायिक उपभोक्ता महासंघ, निजी पारिवारिक वन संघ, कृषि कार्यालय, नेपाल विद्युत प्राधिकरण, पशु विकास कार्यालय र सदस्य सचिवमा डिभिजन वन कार्यालय रहेको छ ।