खोटाङ । आत्मदहको प्रयास गर्दा घाईते भएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पाका २८ वर्षिय भलकाजी बास्तोलाको मृत्यु भएको छ । गत चैत ३ गते राती शरीरमा आगो लगाएर आत्मदहको प्रयास गरेका बास्तोलाको बिहिबार राती जिल्ला अस्पताल खोटाङमा मृत्यु भएको हो । किर्तिपुर बर्न अस्पताल, काठ्माडौंले थप उपचार हुन नसक्ने भन्दै बिहिबार डिस्चार्ज दिएपछि बास्तोलालाई फर्काएर जिल्ला अस्पताल दिक्तेलमा राखिएको थियो ।
उनको उपचारका क्रममा राती २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारुङले जानकारी दिए । जिल्ला अस्पतालले रेफर गरेपछि घाईते बास्तोलालाई चैत ४ गते किर्तिपुर बर्न अस्पताल, काठ्माडौं लगिएको थियो । तर बास्तोलाको स्वास्थ्य अवस्था सुधार हुनुको सट्टा क्रिटिकल हुँदै गएपछि बर्न अस्पतालले डिस्चार्ज दिएको थियो ।
बास्तोलाले आफ्नै शरीरमा आगो लगाएको देखेपछि परिवारका सदस्य र छिमेकीले आगो निभाएर बचाएका थिए । उनले घरायसी तनावका कारण शरीरमा आगो लगाएको बताइएको छ । भलिबल र फुटबल खेलाडी रहेका उनी नेर्पा स्पोर्टस् क्लवमा आवद्ध थिए ।