खोटाङ । खोटाङमा यात्रुवहाक बस, सुमो र अटोका चालक र सहचालकलाई सवारी दुर्घटना न्युनिकरण सम्बन्धि तीनदिने प्रशिक्षण दिईएको छ । जिल्ला प्रहरी कार्यालयको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय र खोटाङ यातायात प्रालिको सहकार्य तथा समन्वयमा १० चैतदेखि १२ चैतसम्म जिल्ला प्रहरी कार्यालयको सभाहलमा प्रशिक्षण दिईएको हो ।
प्रशिक्षणमा सहभागी १०७ जना चालक, सहचालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख हिमाल पौडेलले ट्राफिक नियम, दुर्घटना न्युनिकरण, मापसे, क्षमताभन्दा बढी यात्रु बोक्ने, बोलिचाली सुधार, सवारी साधनलाई चुस्तदुस्त राख्ने, जथाभावि पार्किङ र कागजपत्र बोक्नुपर्ने लगायतका विषयमा जानकारी दिएका थिए ।
प्रशिक्षण कार्यक्रमलाई आइतबार नगर प्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाई, खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङको आतिथ्यता तथा प्रहरी नायब उपरिक्षक मञ्जिल मुकारुङको अध्यक्षतामा समापन गरिएको छ । समापनमा सहभागी चालक र सहचालकलाई प्रमाणपत्र प्रदान गरिएको छ ।