• ट्रेण्डिङ:

सडक पिसिसि ढलानको गुणस्तर परीक्षणका लागि नमुना संकलनमा अवरोध 

सडक पिसिसि ढलानको गुणस्तर परीक्षणका लागि नमुना संकलनमा अवरोध 

रोदिक खबर

२१, चैत्र २०७९
  • 2.4K
    SHARES
  • सडक पिसिसि ढलानको गुणस्तर परीक्षणका लागि नमुना संकलनमा अवरोध 

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ दोर्पाचिउरीडाँडास्थित मध्यपहाडी लोकमार्गदेखि वडा कार्यालय पुग्ने सडकको पिसिसि ढलानको गुणस्तर परीक्षणका लागि नमुना संकलनमा अवरोध गरिएको छ । मध्यपहाडी लोकमार्गवडा कार्यालय सडक ९५५० मिटर०को पिसिसि ढलानको काम गुणस्तहिन भएको गुनासो आएपछि गुणस्तर परिक्षणका लागि पठाइने नमूना संकलनका लागि पुगेका हाइटेक ल्याव प्रालि, काठमाडौंको प्राविधिकको टोलीलाई उपभोक्ता समितिमा आवद्ध स्थानीय तथा कामदारले अवरोध गरेका हुन् ।

    गुणस्तर परिक्षणका लागि सडकको ढलान छेडेर नमूना निकाल्न अवरोध गरिएपछि हाइटेक ल्याव प्रालिका प्राविधिकको टोली त्यसै फर्किएका छन् । स्थिति तनावग्रस्त हुन नदिन जिल्ला प्रहरी कार्यालबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो । ढलानको नमुना संकलनका लागि हाइटेक ल्याव प्रालिको प्रतिनिधिसहित उपमेयर बिसन राई आइतबार दोर्पाचिउरीडाँडा पुगेका थिए ।सववेस नलगाइ ढलान गरिएको, ढलानको थिकनेस निर्धारित १५ सेन्टिमिटरभन्दा कम गरिएको लगायतका गुनासो आएपछि नगरपालिकाले गुणस्तर परीक्षणका लागि ल्यावमा पठाउने नमूना संकलनका लागि हाइटेक ल्याव प्रालिलाई बोलाएको थियो ।

    निर्माण उपभोक्ता समितिमा आवद्ध स्थानीयले गुणस्तर परिक्षण भन्दै पटक पटक ढलान काटेर नमूना लगिएको तर निकास नदिएकाले अवरोध गरेको बताएका छन् । पटक पटक नापजाँच गर्दै जाने तर भुक्तानी नदिने गरेकाले नमुना संकलन गर्न नदिइएको निर्माण समितिका अध्यक्ष जगत बानीयाँ बताउँछन् ।

    गुणस्तर परिक्षणका लागि ढलान काटेर नमूना लिएर गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबास, महोत्तरीले भने सो सडक ढलानको विषयमा परेको उजुरीलाई तामेलीमा राखिसकेको छ ।

    २०७९ मंसिर १६ गते नगरपालिकालाई पठाइएको पत्रमा  सडक निर्माण कार्य सम्पन्न भएको देखिए पनि नापजाँच र भुक्तानी भएको नदेखिएकाले नापजाँच तथा भुक्तानी नभएको अवस्थामा अनियमितता यकिन हुन नसक्ने हुँदा पछि नापजाँच तथा भुक्तानी हुँदाका बखत सम्वन्धित कार्यालयबाट गलत नापजाँच मूल्यांकन गरेको पाइएमा वा भएको कामभन्दा बढी भुक्तानी दिइएको पाईमा वा अन्य कैफियत भएको भनी थप उजुरी, तथ्य, प्रमाण फेला परेमा कानुन बमोजिम हुने नै हुँदा हाललाई उक्त जुरी तामेलीमा राखिएको उल्लेख छ । उजुरी परेपछि अख्तियारले २०७९ भदौ १४ गते ढलान काटेर नमूना लिएर गएको थियो ।

    उपभोक्ता समितिले ८६ लाख ८२ हजार २७६ रुपैयाँ (कन्टेन्जेन्सी कट्टा गरी) मा २०७८ असोज १८ गतेदेखि २०७८ चैत २० गतेसम्ममा सम्पन्न गर्नेगरी सडकको पिसिसि ढलानको सम्झौता गरेको थियो । यद्यपि, काम सम्पन्न गरेको र बाँकी भुक्तानी सहित फरफराकका लागि उपभोक्ता समिति २०७९ असार २४ गते नगरपालिका पुगेको थियो । तर सडकको पिसिसि ढलानको काम गुणस्तहिन भएको भन्दै नगरपालिकाले हाल सम्म भुक्तानी रोकेको छ ।

    आठ लाख ८२ हजार २७५ रुपैयाँ आफै बेहोर्नेगरी उपभोक्ता समितिले १८ लाख ७२ हजार पेश्की लिएर ढलान सुरु गरेको थियो । भुक्तानी नहुँदा कामदार भने मारमा परेका छन् । सडक ढलानको काम गुणस्तरहीन काम भएको भन्दै २०७८ पुस १९ गते काम रोक्न पत्राचार गर्दा पनि उपभोक्ता समितिले काम अघि बढाएको  नगरपालिकाले जनाएको छ । अनुगमनका क्रममा हिलोमाथि ढलान गरिएको देखिएकाले गुणस्तर परिक्षण नगरेसम्म भुक्तानीको बाटो नखुल्ने उपप्रमुख राईले बताए ।

    प्रकाशित मिति :चैत्र २१, २०७९ मंगलवार - ११:५५:५६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको