• ट्रेण्डिङ:

नगरले दियो आमा समुहलाई कपास प्रशोधन गर्ने उपकरण 

नगरले दियो आमा समुहलाई कपास प्रशोधन गर्ने उपकरण 

रोदिक खबर

३, जेठ २०८०
  • 10.0K
    SHARES
  • नगरले दियो आमा समुहलाई कपास प्रशोधन गर्ने उपकरण 

    खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आमा समुहलाई कपास प्रशोधन गर्ने उपकरण प्रदान गरेको छ । व्यवसायिक रुपमा कपास खेती गर्दै आएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान कात्तिकेका जुनतारा आमा समुह र गोदावरी आमा समुहलाई नगरपालिकाले १४ लाख मूल्यपर्ने मेसिन प्रदान गरेको हो ।

    मंगलबार कात्तिकेमा आयोजित कपास प्रशोधन मेसिन हस्तान्तरण तथा जुनतारा आमा समुहको भवन उद्घाटन कार्यक्रममार्फत हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख बिमला राई र उपप्रमुख रमेश राउतले आमा समुहलाई कपास प्रशोधन गर्ने उपकरण हस्तान्तरण गरेका हुन् ।

    कपासको रुवा र बियाँ छुट्याउनका लागि उपयोग गरिने हेभ्भी मेसिन स्काभेटरले टुचन लगाएर ट्याक्टरमा लोड अनलोड गर्दै गाउँमा ल्याइएको हो । मेनुअल्ली कपासको रुवा र दाना छुट्याउन अत्यन्तै झन्झटिलो, ढिलो र समय लाग्ने भएकाले टेण्डर आव्हान गरेर कपासको रुवा र दाना छुट्याउने मेसिन खरिद गरेर आमा समुहलाई प्रदान गरिएको नगरप्रमुख राईले बताईन् । 

    कपास र त्यसको दानालाई चाँडोभन्दा चाँडो छुट्याउने व्यवस्था मिलाएर महिलाको श्रम र समयको बचत गर्दै कपासको औधोगिकरणको लक्ष्यकासाथ नगरपालिकाले कपास प्रशोधन मेसिन उपलव्ध गराएको जनाएको छ । एक दिनमा सरदर एक केजी कपासबाट त्यसको दाना अलग गर्ने गरिएकामा प्रशोधन मेसिनको सहायतामा घण्टामै सयौं केजी कपास र त्यसको दाना छुट्याउने वातावरण बनेको छ । किराती सभ्यतासँग सम्वन्धित कपास र त्यसको सिड छुट्याउन एकदमै समय लाग्ने रहेछ ।

    दिनमा एक जनाले एक केजी मात्रै छुट्याउन सकिने भएकाले कपासबाट निर्मित कपडा र अन्य चिज महंगो हुन जान्छ । जसका कारण श्रम र संस्कृतिबाट मान्छे टाढिने भएकोले मेसिनको व्यवस्था गरिदिएका हौँ, नगरप्रमुख राईले भनिन्, कपासको रुवा र दाना छुट्याउन सरल, सहज र छिटो हुने तथा कपासबाट विभिन्न आइटम उत्पादन गर्दै उद्योगको रुपमा स्थापित गर्ने लक्ष्यका साथ मेसिन दिएका हौँ । नगरपालिकाले अनुदान उपलव्ध गराउन थालेपछि कात्तिकेमा लोप भइसकेको कपास खेतीलाई आर्थिक वर्ष २०७६÷०७७ देखि पुःर्नजागृत गराइएको हो ।

    साविकको महादेवस्थान–६ कात्तिकेस्थित जुनतारा आमा समुहमा आवद्ध ३४ महिला र साविकको महादेवस्थान–९ कात्तिकेस्थित गोदावरी आमा समुहमा आवद्ध ३१ महिलाले करिब ८० रोपानी जग्गामा कपास खेती लगाउँदै आएका छन् ।

    प्रकाशित मिति :जेठ ३, २०८० बुधवार - ०८:१२:४८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको