खोटाङ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र रहेका नौ वटा वर्थिङ सेन्टरलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । रेडक्रसले बिहीबार बिहान दिक्तेल स्थित आफ्नै कार्यालयमा एक कार्यक्रमकाबीच नुनथला, बाम्राङ, चिउरीडाँडा, खार्मी, पाथेका, जालपा, बुइपा, नेर्पा र निर्मलीडाँडामा रहेका वर्थिङ सेन्टरलाई स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।
वर्थिङ सेन्टरलाई डेलिभरी बेड, डेलिभरी सेट, सर्भाइकल टियर रिपियर सेट, सक्सन मेसिन, मेजरिङ टेप, बेडसाइड स्क्रीन, डिजिटल वेट मेसिन, ड्रम, बेबी ¥यापर लगायतका स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।
स्वास्थ्य सामाग्री नगरप्रमुख तीर्थराज भट्टराई, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राई, समुदायमा आधारित वृहत स्वास्थ्य कार्यक्रमका प्रबन्धक रमेश न्यौपाने, रेडक्रस केन्द्रीय कार्यालयका स्वास्थ्य अधिकृत दीपक पोखरेल,लगायतले बर्थिङ सेन्टर रहेका वडाका स्वास्थ्यकर्मीहरुलाई हस्तान्तरण गरिएको शाखाका सभापति ज्ञानेन्द्र जोशीले जानकारी दिए ।
क्यानेडियन रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीद्धारा सञ्चालित ‘समुदायमा आधारित वृहत स्वास्थ्य कार्यक्रम’ अन्तर्गत नेपाल सरकारले तोकेको मापदण्ड अनुसारका सामाग्री नपुगेका वर्थिङ सेन्टरहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको रेडक्रसका जिल्ला शाखाका मन्त्री छत्रकुमार वजियमले बताए । वजिमयका अनुसार सन् २०२२ मा नेपाल सरकारले तोकेको मापदण्ड वर्थिङ सेन्टरले पूरा गरेरनगरेको सर्वेक्षण गरिएको थियो । त्यही सर्वेक्षणका आधारमा सामाग्रीहरु नपुग भएका वर्थिङ सेन्टरलाई सामाग्री दिईएको हो ।
१५ वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ९ वटा वर्थिङ सेन्टर सञ्चालनमा छ । विजयखर्क र बुवालुङमा वर्थिङ सेन्टर अति आवश्यक रहेको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक खेमराज आचार्यले बताए । आचार्यका अनुसार खाल्लेमा वर्थिङ सेन्टरका लागि सामाग्री भए पनि भवन बन्ने चरणमा छ ।
सन् २०२० देखि रेडक्रसद्धारा सञ्चालित ‘समुदायमा आधारित वृहत स्वास्थ्य कार्यक्रम’ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र ऐसेलुखर्क गाउँपालिकामा सञ्चालित छ । यसअघि यहि कार्यक्रम अन्तर्गत ऐसेलुखर्क गाउँपालिकाको राखाबाङदेल, माक्पा, ज्यामिरे र ऐसेलुखर्क वर्थिङ सेन्टरलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको रेडक्रसले जनाएको छ ।