लम्पी स्किन रोगले मरेको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम गणेसटारका कृषकको गोरु ।
खोटाङ । खोटाङमा लम्पी स्किन रोगको महामारी नियन्त्रण बाहिर गएको छ । जिल्लाका १० वटै पालिकामा देखा परेको लम्पी स्किन रोगले हालसम्म ६० बढी गाईगोरु मरिसकेका छन् । सबैभन्दा धेरै जन्तेढुंगामा गाईगोरु मरेका छन् । जन्तेढुंगा गाउँपालिका–१ देबिस्थानमा ७ वटा, बोपुङमा १२ वटा, काहुलेमा ५ वटा, डम्बर्खुशिवालयमा ४ वटा, चिसापानीमा २ वटा गाईगोरु मरेको पशुशाखा संयोजक डा. सुशन ढकालले जानकारी दिए । जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा मरेका गाईगोरुको तथ्यांक आएको छैन ।
यस्तै, लम्पी स्किन रोगका कारण हलेसी तुवाचुङ नगरपालिकामा २८ वटा गाईगोरु मरिसकेका छन् । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा रणबहादुर श्रेष्ठ, कुम्ब नारायण श्रेष्ठ, मोतीलाल श्रेष्ठ, कृष्णबहादुर कार्की, बिदुर कार्की, हस्तबहादुर कार्की लगायतका गरी करीब १५ वटा मरेको वडाध्यक्ष अनिश कार्कीले बताए । हस्तबहादुरको एउटा गोरु केही दिन अगाडि मात्रै मरेको उनको भनाइ छ ।
हलेसी हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा करीब १३ वटा गाईगोरु मरेका छन् । शुक्रबार मात्रै दुर्छिम गणेसटारका नविन राईको गोरु मरेको छ । राईकै अर्को गोरु केही दिन अगाडि लम्पी स्किन रोगले मरिसकेको छ । दुर्छिम रातमाटेका चलनसिं राईको एउटा गोरु गत वैशाखमा जोत्दाजोत्दै मरेको स्थानीय राजन राईले बताए ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा ५ वटा गाईगोरु मरेका छन् । एउटै वडामा लगातार गाईगोरु मर्न थालेपछि नगरपालिकाको प्राविधिकसँगै वडाले छुट्टै एक जना पशुसेवा प्रविधिकको पनि व्यवस्था गरेर उपचार गरिरहेको वडाध्यक्ष रामबहादुर कट्वालले बताए । रावा बेसी गाउँपालिका–२ खार्पामा पनि एउटा गाईको बाछो मरेको पालिकाका पशुसेवा प्राविधिक निरज रावलले बताए ।
यस्तै, केपिलासगढी, खोटेहाङ, बराहपोखरी, ऐसेलुखर्क, साकेला र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अधिकांश ठाउँका गाईगोरुमा पनि लम्पी स्किन रोग देखा परेको छ । जिल्लाका १० वटै स्थानीय तहका सबै वडाहरुमा लम्पी स्किन रोग महामारीको रुपमा फैलिएको छ । पालिकाहरुले रोग नियन्त्रणका लागि पशसेवा प्राविधिकहरुलाई खटाइरहेको बताए पनि गाईगोरु मर्ने प्रक्रिया जारी रहेको छ ।
भारतबाट २०७७ सालमा मोरङ हुँदै नेपाल छिरेको लम्पी स्किन रोग हाल देशका ३० बढी जिल्लामा फैलिएको बताइएको छ । बिशेष गरी यो रोग ठुला पशुचौपाया गाई, गोरु, भैंसी, राँगोमा देखापर्ने विज्ञहरुको भनाइ छ । खोटाङमा भने गाईगोरुमा मात्र देखा परेको छ । अधिकांश गाईगोरुमा ज्वरो आउने र शरीरको विभिन्न भाग तथा भित्रि तहमा गाँठागुठी देखिने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने लगायतका लक्षण देखिएपछि कृषकहरु चिन्तित बनेका छन् ।
मोर्डना कम्पनीले लम्पी स्किन रोगको भ्याक्सिन भर्खरै उत्पादन गर्न सुरु गरेपनि त्यसको प्रभाबकारी मापन भइ नसकेको बताइएको छ । जिल्लाका अधिकांश पालिकाका पशुसेवा प्राविधिकहरुले लक्षणका आधारमा सशुल्क औषधि दिदै आएका छन् ।
लम्पी स्किन रोग लामखुट्टे, भुसुना, झिंगा आदिको टोकाईबाट सर्ने विज्ञहरु बताउछन् ।