खोटाङ। नेपाल आयल निगमले ९ वर्षपछि पुनः पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ । आइतबार साँझ पत्रकार सम्मेलन गरेर निगमले उक्त प्रणाली कार्यान्वयनमा ल्याएको घोषणा गरेको हो । आइतबार राति १२ बजेबाट लागू भएको उक्त प्रणालीले डिजेल, पेट्रोल, मट्टीतेल र ग्याँसको मूल्य नियमन गर्ने निगमका अध्यक्ष एवम् वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले बताए ।
कार्यान्वयनमा आएको स्वचालित मूल्य प्रणालीअनुसार निगमले परल मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य तोकेको जनाएको छ । जसअनुसार डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४–४ रूपैयाँ र पेट्रोलको मूल्य लिटरमा ६ रूपैयाँले घटेको छ ।
यस्तै, खाना पकाउने ग्याँसमा नाफा नराख्ने नीतिअनुसार निगमले हाल नाफा रहेको प्रतिसिलिण्डर १० रूपैयाँ मूल्य पनि घटाएको छ ।
निगम सञ्चालक समितिका अध्यक्ष एवम् वाणिज्य तथा आपूर्ति सचिव मरासिनीका अनुसार स्वचालित मूल्य प्रणाली लागू भएपछि देशभर इन्धनको मूल्य घटेको छ । परल मूल्य बढ्दा बिक्री मूल्य पनि बढ्ने र घट्दा घट्ने प्रणालीअनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्यपछि निगमले मूल्य समायोजन गरेको हो ।
निगमका अनुसार अब काठमाडौं उपत्यकासहितका क्षेत्रमा पेट्रोल लिटरको १६४ रूपैयाँ पर्नेछ । तराईका जिल्लाहरूमा १६१ रूपैयाँ ५० पैसा र भित्री मधेशमा १६३ रूपैयाँ पर्नेछ । डिजेल र मट्टीतेल उपत्यकामा लिटरको १४६ रूपैयाँ, तराईका जिल्लाहरूमा १४३ रूपैयाँ ५० पैसा र भित्री मधेशमा १४५ रूपैयाँ पर्नेछ ।
एलपी ग्याँस (खाना पकाउने ग्याँस) को प्रतिसिलिण्डर मूल्य १८०० रूपैयाँबाट घटेर १७९० रूपैयाँ कायम भएको छ । हवाई इन्धनको मूल्य भने स्वचालित हुने छैन । यो निगम सञ्चालक समितिले तोकेअनुसार हुने निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिए ।
सीमा मूल्यको अन्तर हेर्दा भारतको रक्सौलमा भन्दा वीरगञ्जमा पेट्रोल प्रतिलिटर १३.२७ रूपैयाँ सस्तो पर्ने छ । मटीतेल र डिजेलमा प्रतिलिटर ९.९४ पैसा सस्तो पर्ने छ । हवाई इन्धनअन्तर्गत आन्तरिकतर्फ नेपालमा भारतको तुलनामा २३.८१ रूपैयाँ सस्तो पर्ने छ भने बाह्य इन्धनमा भने केही महँगो पर्ने निगमले जनाएको छ ।