आइतवार, कार्तिक १६ गते २०८३

जिल्ला अदालत खोटाङद्वारा ८० प्रतिशत मुद्दा फस्यौट,  सबैभन्दा बढी सम्बन्ध बिच्छेदका मुद्दा

जिल्ला अदालत खोटाङद्वारा ८० प्रतिशत मुद्दा फस्यौट,  सबैभन्दा बढी सम्बन्ध बिच्छेदका मुद्दा

रोदिक खबर

७, श्रावण २०८०
  • 9.9K
    SHARES
  • जिल्ला अदालत खोटाङद्वारा ८० प्रतिशत मुद्दा फस्यौट,  सबैभन्दा बढी सम्बन्ध बिच्छेदका मुद्दा

    खोटाङ । जिल्ला अदालत खोटाङले चालू आर्थिक वर्ष २०७९/८० मा ८० प्रतिशत मुद्दा फस्यौट गरेको छ । कुल ४९९ थान मुद्दामध्ये ३९९ मुद्दा फस्यौट गरेको जिल्ला अदालतले बताएको छ । ३१९ मुद्दा फस्यौट गर्ने लक्ष्य लिएको भएपनि ३९९ मुद्दा फस्यौट गरेको जनाएको छ । जसमा  लक्ष्य भन्दा ८० वटा बढी मुद्दा फस्यौट गर्न सफल भएको जिल्ला अदालत खोटाङका श्रेस्तेदार रमाकान्त यादवले जानकारी दिए ।

    श्रेस्तेदार यादव अनुसार जिल्ला अदालत खोटाङमा एक सय थान मुद्दा फस्यौट हुन बाँकी छन् । दुई वर्ष पुरानो बाँकी मुद्दा भनी शून्यमा झारेको छ । जिल्ला अदालमा सम्बन्ध बिच्छेद (डिभोर्स) का मुद्दा अरु मुद्दाको तुलनामा बढी रहेका छन् । अदालतको तथ्यांक हेर्ने हो भने प्रत्येक वर्ष सम्बन्ध बिच्छेदका घटना बढ्दै गएका छन् । यस वर्षको तथ्यांक ४९९ मुद्दामध्ये २२८ मुद्दा सम्बन्ध विच्छेदका रहेका छन् ।

    अदालतमा आउने सम्बन्ध बिच्छेदका अधिकांश मान्छे २० देखि २७ वर्षसम्मका रहेका छन् । कलिलै उमेरमा विवाह गर्ने तर त्यसलाई व्यवस्थापन गर्न नसक्दा २५ वर्ष नाघेपछि अधिकांश जोडीहरु सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गर्न आउने गरेको जनाएको  छ । पठाएको रेमिटान्स जथाभावी खर्च र दुरुपयोग गरेको कारण पनि सम्बन्ध बिच्छेद बढ्दै गएको छ । ६० प्रतिशत मान्छे दुःख पाएर सम्बन्ध बिच्छेद गर्न आउने गरेको अदालतका श्रेस्तेदार यादवले बताए ।

    यस वर्ष सम्बन्ध बिच्छेद २२८, जवरजस्ती करणी ३८, बालबिवाह १, लागुऔषध ४, कर्तव्य ज्यान १०, चोरी १०, अभद्र व्यवहार १, मेलमिलाप २८ र जेष्ठ नागरिक १ थान मुद्दा दर्ता भएका मध्ये १ सय थान मुद्दा बाँकी रहेको र ती मुद्दाहरु चाडै फस्र्यौट गर्ने गरी काम गर्न लागिरहेको अदालतले जनाएको छ । मुद्दा लिएर आउने सेवाग्राहीलाई राहतको महसुस हुने खालको काम भइरहेको र सेवाग्राहीलाई बिचौलीयाको पछाडि नलाग्न आफैले मुद्दाको बिषयमा छलफल गरेर सल्लाह सुझाव दिने गरेको श्रेस्तेदार यादवले बताए ।

    प्रकाशित मिति :श्रावण ७, २०८० आइतवार - २०:०६:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको