खोटाङ । खोटाङमा झरी वर्षाका कारण लेदो र पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । शुक्रबार बिहान मध्यपहाडी लोकमार्ग अन्तरगत हलेसी तुवाचुङ नगरपालिका १ बाहुनीडाँडाको बयाक्ता र राँगाकाटेमा लेदो र पहिरो खस्दा सवारी आवागमन ठप्प भएको छ । राँगाकाटेमा सडकभन्दा माथिबाट लेदो सहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
यस्तै, बयाक्तामा सडकमाथिबाट बन्दैगरेको अर्को सडकको माटो लेदोको रुपमा खस्दा मध्यपहाडी अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा खोटाङबाट काठ्माडौं तथा पुर्वी शहर आवतजावत गर्ने यात्रु अलपत्र परेका छन् ।
स्काभेटर प्रयोग गरेर सडकमा खसेको पहिरो तथा लेदो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए । सडक खुलाउनका लागि प्रहरीचौकी च्यास्मीटारबाट प्रहरी परिचालन गरिएको छ ।खोटाङ काठ्माडौंको बीचमा पर्ने भँडारे खोला, सोखु खोला लगायतका ठाउँमा पनि यात्रु कष्टकर यात्रा गर्न बाध्य छन् ।
खोटाङका सबै कच्ची सडक अवरुद्ध
वर्षा सुरु भएसँगै खोटाङका सबै कच्ची सडक अवरुद्ध हुँदा मध्यपहाडी लोकमार्ग मात्र सञ्चालन हुने गरेको छ । असार १५ गतेदेखि जिल्लाको सबै कच्ची सडक अवरुद्ध भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । दिक्तेल हुर्लुङ-जालपा-ऐसेलुखर्क, दिक्तेल-जालपा-बाक्सिला, दिक्तेल-खार्मी बालाबेँसी, दिक्तेल-साकेला-रतन्छा, दिक्तेल-पञ्चमी-खोटाङबजार, दिक्तेल-दोर्पा-रतन्छा, दिक्तेल-फोक्सिङटार-गाईघाट लगायतका सडक अवरुद्ध भएको हो ।
स्तरोन्नतीको जिम्मा लिएको ठेकेदार र सम्वन्धित क्षेत्रका स्थानीय तहले सडक सुचारु गराउनमा ध्यान नदिएको महासचिव हिङमाङले बताए । दिक्तेल रुपाकोट मझुवागढीको अगुवाईमा सञ्चालन गरिएको श्रमदानमार्फत मर्मत गरिएका कारण दिक्तेल-पाथेका सडक भने वर्षामा पनि सञ्चालन भइरहेको छ ।