खोटाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङले समाजमा मेलमिलाप र शान्तिको वातावरण कायम गर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै राप्रपाले धार्मिक सहिष्णुता कायम गर्दै मेलमिलाप र शान्तिको वातावरण कायम गर्न आग्रह गरेको हो ।
राप्रपाले केही समयअघि धरानमा गौवध गरी मासु खाएको दृश्य सामाजिक सञ्जालमा राख्ने र त्यसो गर्न पाउनु पर्छ भन्दै खुलेआम चुनौती दिने पक्षलाई कारबाही गर्न माग गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङका अध्यक्ष ललितकुमार राई (जीवन) ले सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहमार्फत पठाइएको ज्ञापन पत्रमा बहुसंख्यक हिन्दु रहेको देशमा सनातन संस्कार मान्दै आएका सनातनी ओमकार परिवारलाई खुला चुनौती दिने, हिन्दुले बनाएको मन्दिरसँगै चर्च बनाउने र त्यसले सिर्जना गर्न सक्ने सामाजिक द्धन्दप्रति सरोकार पक्ष र सरकारका निकायले देखाएको निस्क्रियताले समग्र हिन्दु धर्मावलम्बिको आस्थामाथि गहिरो चोट पुगेको उल्लेख छ ।
राप्रपाले नेपालको संविधान, मुलुकी अपराध संहिता विरुद्ध भएका गतिविधि उपर रोक लगाई सम्बन्धित पक्षलाई कानुनी कारवाहीको दायरामा ल्याउनु पर्नेमा सरकारले उदासिनता देखाएको जनाएको छ । यसै विषयमा सनातन परिवारले धरानमा शान्तिपूर्ण रुपले गर्न लागेको विशाल जनसभामा लगाएको निषेधाज्ञाले हिन्दु धर्मावलम्बीहरुप्रति सरकारको रवैया प्रष्ट भएको ज्ञापनपत्रमा भनिएको छ ।

केही दिन अगाडि धरानमा गौवध गरी मासु खाएको दृश्य सामाजिक संजालमा सार्वजनिक गर्ने र त्यसो गर्न पाउनु पर्छ भन्दै खुलेआम चुनौती दिने पक्षलाई सरकारले कारवाही गर्न देखाएको उदासिनता उपर पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ, ज्ञापनपत्रमा भनिएको छ, संविधान र प्रचलित कानुनको बर्खिलाप गर्नेहरु विरुद्ध कडा कानुनी कारवाही गरी सनातन संस्कृति मान्दै आएका ओमकार परिवारहरुको आस्थाको सम्मान गर्न, समाजमा मेलमिलाप र शान्तिको वातावरण कायम गर्न आग्रह गर्दछौँ ।