खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका अग्नी पीडित किशोर दुमी राईलाई स्थानीय, रेडक्रस र प्रशासनले सहयोग गरेको छ ।
मंसिर ३ गते राती ११ः४५ बजे बोइलर कुखुराको चल्लालाई तातो दिन बालिएको कोईला र बिजुलीको रातो चिमबाट सल्किएको आगोले पूर्णरुपमा घर जलेर विस्थापित भएका राई परिवारलाई आज सोमबार बाक्सिलाका ८० जना स्थानीयले १ लाख २० हजार ८२५ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
संकलित रकम आजै अग्नी पीडित राई र उनका श्रीमती मनिलालाई हस्तान्तरण गरिएको स्थानीय शिव राईले बताए ।
स्थानीय मनिस्टर राई र हस्त तामाङले आगलागीमा घाईते भएकी १५ वर्षीया बालिका सरिता तामाङलाई उपचारमा काठमाण्डौ लैजानमा सहयोग गरेका थिए ।
अग्नी पीडितलाई आजै जिल्ला विपद राहत कोषबाट १५ हजार र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले अत्यावश्यक सामाग्रीहरु सहयोग गरेको छ ।
जिल्ला विपद राहत कोषको सहयोग रकम प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले पीडितलाई हस्तान्तरण गरेका थिए ।
रेडक्रसले त्रिपाल, म्याट्रेस, साडी, बाल्टि, झुल, प्रिण्ट कपडा, साधा कपडा, सुटिङ कपडा १–१ थान, भाडाकुडा १ सेट र डोरी १ मुठा प्रदान गरेको रेडक्रसका मन्त्री छत्रकुमार वजिमयले जानकारी दिए ।
आगलागीबाट राईको १५ वटा बोइलर कुखुराको चल्ला, अन्नपात, भाडावर्तन, काठपात, लत्ताकपडा, २ तोला सुन, ४ तोला चाँदी समेत जल्दा अन्दाजी १५ लाख बराबरको क्षति भएको छ ।