उदयपुरको त्रियुगा नगरपालिकाले जाजरकोटमा गएको भुकम्प पीडितका लागि राहात सामाग्री लिएर त्यस तर्फ प्रस्थान गरेको छ । त्रियुगा नगरपालिकाले करिव ११ लाख बराबरको राहत सामाग्री लिएर मंगलवार भुकम्प प्रभावित जिल्ला जाजरकोट प्रस्थान गरेको हो ।
नगरपालिकाले आफ्नै कोष तथा सहयोगी सङ्घ संस्थाबाट सङ्कलन गरी जुटाएको रकमबाट खाद्यान्न लगायत विभिन्न औषधी र लत्ता कपडा खरिद गरेको हो ।
नगरपालिकाले ३ लाख ८३ हजार ५ सय बराबरको ५ हजार ९ सय किलो चामल, २८ हजार ४ सय ४२ रुपैया बराबरको ७८ थान म्याट, ९८ हजार ९ सय ६५ रुपैया बराबरको २ सय ९० थान न्यानो कपडा, १ लाख १ हजार ६ सय बराबरको २ सय थान ब्लान्केट, १ लाख बराबरको ९० थान त्रिपाल, ६ हजार बराबरको ४ थान ठूलो त्रिपाल, ५४ हजार बरबारको १ हजार २ सय थान सेनिटरी प्याड, १ लाख १५ हजार बराबरको ४८ थान विभिन्न प्रकारको औषधि सहितका राहत सामाग्री सहयोग त्यसतर्फ लागेको नगरप्रमुख बसन्त बस्नेतले जानकारी दिए ।
राहात सामाग्रीको लागि त्रियुगा उद्योग बाणिज्य संघले १ लाख बराबरको सहयोग र त्रियुगा मेडिकल र नगर स्वास्थ्य शाखाबाट औषधिहरु उपलब्ध गराएको नगर प्रमुख बस्नेतले बताए ।
यस्तै, ओरेक नेपालले १३ हजार बराबरको बच्चाको लागि न्यानो कपडा, महिलाहरुको लागि न्यानो सुरुवाल, गर्भवती महिलाको लागि म्याक्सी, जेन्स पाईन्ट, किशोरीहरुको लागि जामा उपलब्ध गराएको छ ।
त्यसैगरी पिसजोन स्कुल गाइघाटले ५७ थान नर्मल ट्याक सुट उलब्ध गराएको त्रियुगा नगरपालिकाले जनाएको छ । प्रकोपले पुर्याएको सङ्कटका घडीमा भूकम्प पीडितका असीमित पीडामा सीमित सहयोग लिएर साथ दिन त्यसतर्फ हिडेको नगरप्रमुख बस्नेतले बताए ।